प्यारिसमा जलवायु मस्यौदा दस्तावेज तयार

  • 6 डिसेम्बर 2015
तस्वीर कपीराइट EPA
Image caption जलवायु परिवर्तन नियन्त्रणमा राख्नेबारे नयाँ संझौताको मस्यौदा प्यारिसमा तयार भएको छ

फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ ओलान्डले विश्वव्यापी तापमान नियन्त्रण गर्ने उद्देश्यका साथ तयार पारिएको मस्यौदा दस्तावेजको स्वागत गरेका छन्।

प्यारिसमा जारी जलवायु सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति ओलाण्डले त्यसको सफल कार्यान्वयनका निम्ति क्षेत्रीय स्वार्थबाट विश्व माथि उठ्नु पर्नेमा जोड दिएका छन्।

उक्त ४८ पृष्ठ लामो दस्तावेज सोमबार मन्त्रीहरुकहाँ पुग्नेछ।

मस्यौदा दस्तावेजलाई दीर्घकालीन सहमति बनाउने हो भने मन्त्रीहरुले थुप्रै राजनीतिक निर्णयहरु लिनुपर्नेछ।

यो सप्ताहन्त सम्ममा त्यसलाई उनीहरुले विस्तृत संझौता बनाउन प्रयत्न गर्नेछन्।

राजनीतिक मुद्दा

तर फ्रान्सेली जलवायु दूतले ठूल्ठूलो राजनीतिक फरक मतहरु बाँकी रहेकोमा सचेत बनाएकी छन्।

जलवायु दूत लराँ टुबियाना भन्छिन्, "यो मस्यौदा एउटा सहमतिमा पुग्न तयार पारिएको इच्छापत्र हो। हामी अन्तिममा पुगिसकेका छैनौं।"

फ्रान्सेली राष्ट्रपतिले दिएको शनिबार मध्यदिन सम्मको समयसीमालाई ध्यानमा राख्दै १सय ९५ देशका प्रतिनिधिहरुले रातभर काम गरेका थिए।

हाम्रा वातावरण सम्वाददाता म्याट मकग्राथ भन्छन्- राष्ट्रपति ओलान्डले यो सम्मेलनलाई सफल बनाउन ठूलो कुटनीतिक प्रयास गरेका छन्।

र मस्यौदा दस्तावेज पूर्ण प्रकृतिको प्यारिस सहमति बनाउन महत्वपूर्ण कदम हो।