चीनमा उच्च खतरास्तरको वायुप्रदूषणको चेतावनी

  • 7 डिसेम्बर 2015
तस्वीर कपीराइट EPA

चीनले राजधानी बेइजिंगमा अहिलेसम्मकै सबैभन्दा उच्च खतरास्तरको वायुप्रदूषणको चेतावनी जारी गरेको छ।

आउँदो मंगलबारदेखि बिहीबारसम्म बेइजिङ्ग बाक्लो तुवाँलोले ढाकिने चेतावनी दिइएको छ।

त्यस्तो चेतावनीपछि विद्यालयहरु बन्द गरिने र बाह्य निर्माणकार्यहरु स्थगित हुने बताइएको छ।

अनुमान

राज्यनियन्त्रित समाचार संस्था सिन्ह्वाका अनुसार पछिल्लोपटक जारी खतराको चेतावनी यसअघि बेइजिंगमा कहिले पनि जारी भएको थिएन।

अधिकारीहरुले लगातार तीन दिनभन्दा बढी समयसम्म बाक्लो तुवाँलो ढाक्ने अनुमान गरेका छन्।

जोर र बिजोर नम्बरका आधारमा दिन बिराइ सवारी साधनहरु चल्न पाउने व्यवस्था लागू गर्न लागिएको छ।

बेइजिंगका केही क्षेत्रमा तुवाँलोका कारणले २ सय मिटर भन्दा टाढा देख्न सकिदैंन।

सोमबार बिहान बेइजिंगस्थित अमेरिकी दूतावासले जारी गरेको विवरण अनुसार खतराजन्य र विषाक्त कणहरुको मात्रा निर्धारित सीमाभन्दा १० गुणा बढी थियो।

उद्योगमा इन्धनका रुपमा कोइलाको प्रयोग, सवारीसाधनको उत्सर्जन र निर्माणकार्यबाट आउने धुलोले चीनमा तुवाँलोको समस्या बढाइरहेका छन्, र कतिपय चिनियां शहरका लागि वायु प्रदूषण स्थायी समस्या भएको छ।