‘भ्रष्टाचार आरोपबारे ब्लाटरसँग सोधपुछ जारी’

  • 7 डिसेम्बर 2015
ब्लाटर तस्वीर कपीराइट AFP
Image caption निलम्बित फिफा अध्यक्ष ब्लाटरसँग सन् १९९०को दशकमा भएको लेनदेनका सम्बन्धमा सोधपुछ भइरहेको बुझिएको छ

फिफाका निलम्बित अध्यक्ष सेप ब्लाटरको विश्व फुटबलको प्रशासकीय निकायमा भएको भनिएको भ्रष्टाचारमा संलग्नता भए-नभएकोबारे एफबीआईले अनुसन्धान गरिरहेको बीबीसीको पानोरमा कार्यक्रमको अनुसन्धानले देखाएको छ।

अमेरिकी अनुसन्धान सन् १९९० मा भएको भनिएको ठूलो आर्थिक अनियमिताको घटनामा केन्द्रित रहेको बुझिएको छ।

समसामयिक सामाग्री समेट्ने बीबीसीको पानोरमा कार्यक्रमले निलम्बित फिफा अध्यक्ष सेप ब्लाटरलाई अमेरिकी अनुसन्धान निकाय एफबीआईले सोधपुछ गरिरहेका प्रमाणहरु भेट्टाएको छ।

'मार्केटिङ'

खेलकुदसम्बन्धी मार्केटिङ गर्ने एक कम्पनीले सन् १९९०को दशकमा फिफाका अधिकारीहरुलाई दशौं लाख डलर तिरेर विश्व कप फुटबलको मार्केटिङ गर्ने अधिकार हासिल गरेको विश्वास गरिएको छ।

त्यसक्रममा ब्लाटर अघिका फिफा प्रमुख जुआन आभालान्जी लाई पनि मोटो रकम तिरिएको आरोप लगाइएको छ।

ब्लाटरलाई त्यसबारे “पूरै जानकारी” भएको व्यहोराको आभालान्जीको पत्र पानोरमा कार्यक्रमले भेटाएको छ।

मार्केटिङ कम्पनीसँगको लेनदेनबारे ब्लाटरलाई सबै जानकारी छ भनिएको भएपनि उनले आफूलाई केही थाहा नभएको बताएका छन्।