'गठबन्धन हमला'को सिरिया सरकारद्वारा निन्दा

  • 7 डिसेम्बर 2015
तस्वीर कपीराइट Reuters

सिरियाको पूर्वी भेगमा भएको हवाइ हमलामा कम्तीमा तीनजना सिरियाली सरकारी सैनिक मारिएका छन्।

डेर अ जोर प्रान्तमा भएको उक्त हमलालाई सिरिया सरकारले निन्दा गरेको छ र त्यसलाई जानाजान गरिएको हमला भनेको छ।

सिरियाको विदेश मन्त्रालयका अनुसार अमेरिकी नेतृत्वको गठबन्धनका जेट विमानहरुले डेर अल जोर प्रान्तमा रहेको एउटा सैनिक शिविरमा क्षेप्यास्त्र प्रहार गरेका थिए।

उक्त प्रान्तको धेरैजसो भाग इस्लामिक स्टेट समूहको नियन्त्रणमा छ।

निशाना

तर गठबन्धनका एकजना प्रवक्ताले उक्त शिविर वरपरको क्षेत्रमा आफ्ना सैन्यले कुनै पनि हमला नगरेकोमा जोड दिए।

सिरियामा सन् २०१४ को सेप्टेम्बर महिनादेखि उक्त गठबन्धनले इस्लामिक स्टेटका उग्रवादीहरुलाई निशाना बनाउँदै आएको छ।

र, यस बारेमा दमस्कसस्थित अधिकारीहरुसंग समन्वय गर्ने गर्दैन।

सिरियाको विदेश मन्त्रालयले गठबन्धनका चारवटा लडाकु विमानहरुले आइतबार साँझ डेर अल जोर प्रान्तमा रहेको सैनिक शिविरमा नौवटा क्षेप्यास्त्र प्रहार गरेका दावी गरेको छ।

तस्वीर कपीराइट AP

त्यसक्रममा आफ्ना तीनजना सैनिकहरु मारिनुका साथै अन्य १३ जना घाइते भएको मन्त्रालयले जनाएको छ।

नष्ट

मन्त्रालयका अनुसार सो हमलामा चारवटा सैनिक वाहन, ठूला मशिन गनहरु र एउटा हतियार भण्डार नष्ट भएका छन्।

मन्त्रालयले कुन चाहिं शिविरमा हमला भएको थियो भन्ने बताएको छैन।

तर 'सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स' नामक अभियानकारी संस्थाका अनुसार डेर अल जोरको उत्तरमा अवस्थित ऐयश नगर नजिकै रहेको साएका शिविरको केही भागमा गठबन्धन सैन्यले बम हमला गरेका थिए।

संयुक्त अधिराज्यमा रहेको उक्त संस्थाले सो हमलामा मारिनेको संख्या चार रहेको बताएको छ।

सिरियाली विदेशमन्त्रालयले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदलाई सम्बोधन गर्दै भविष्यमा यस्ता आक्रमणका घटना नदोहोरिनका लागि जरुरी कदम चाल्न आह्वान गरेको छ।