शरणार्थी पुनर्वास कार्यक्रमबारे राष्ट्रसंघीय चिन्ता

  • 8 डिसेम्बर 2015

संयुक्त राष्ट्रसंघीय शरणार्थी सहायता निकायले भनेको छ, अमेरिकामा मुसलमान विरोधी चर्का अभिव्यक्तिहरुका कारण सिरियाली शरणार्थीहरुको पुनर्स्थापना कार्यक्रमलाई जोखिममा पार्न सक्नेछ।

अमेरिकी राष्ट्रपतिय निर्वाचनमा उम्मेदवारीका लागि प्रचारप्रसार गरिरहेका, धनाढ्य घरजग्गा व्यवसायी डोनल्ड ट्रम्पले मुसलमानहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउनुपर्छ भनि अभिव्यक्ति दिएका थिए।

त्यससम्बन्धमा सोधिएको प्रश्नमा प्रतिक्रिया जनाउंदै राष्ट्रसंघकी एकजना प्रवक्ताले, त्यस्ता टिप्पणीहरुले एकदमै कमजोर अवस्थामा रहेका मानिसहरुका लागि ल्याएको एकदमै महत्वपूर्ण कार्यक्रमलाई अप्ठ्यारोमा पार्न सक्ने बताएकी छिन्।

टिप्पणी

अमेरिकी गभर्नरहरुले सिरीयाली शरणार्थीहरुको पुनर्वास कार्यक्रमलाई रोक्नका निम्ति आह्वान गरेका दुई हप्तापछि आएको डोनल्ड ट्रम्पको टिप्पणीले संयुक्त राष्ट्रसंघलाई चिन्तित पारेको छ।

अमेरिकाले हाल प्रत्येक वर्ष जोखिमपूर्ण अवस्थामा रहेका केहि हजार शरणार्थीहरुलाई आफूकहां पुनर्वास गराउने गर्दछ।

तिनमा गम्भीर स्वास्थ्य समस्याहरु भएका बालबालिका र यातना पिडीतहरु पनि पर्दछन्।

त्यसका लागि गरिने सुरक्षा परिक्षणका लागि दुई वर्षसम्म लाग्ने गरेको छ।

उपाय

तर संयुक्तराष्ट्रसंघका अनुसार उक्त कार्यक्रम सबैभन्दा धेरै कमजोर अवस्थामा रहेकाहरुका लागि जीवन जोगाउने उपाय नै बनेको छ।

सहायता निकायहरुका अनुसार धर्म र जातीयतामा आधारित भेदभावबाट कतिपय राष्ट्रसंघीय सन्धी सम्झौताहरुको उल्लंघन हुन जानेछ।

तस्वीर कपीराइट Reuters

राष्ट्रसंघका अनुसार हाल १२ हजार सिरियाली शरणार्थीहरु जोर्डनसंगको सीमानामा अलपत्र रहेका छन्।

त्यहां गर्भवती महिलाहरुले एकदमै जाडो मौसममा खुला आकाश मुनि नै बच्चा जन्माउन बाध्य हुनुपरेको छ, बालबालिकाहरु चरम कुपोषणग्रस्त छन्।

अमेरिकामा राजनीतिक फाइदाका लागि गरिने टिप्पणहीहरुबाट सबैभन्दा धेरै मारमा पर्ने यी र यस्ता मानिसहरु नै हुने राष्ट्रसंघको चिन्ता रहेको छ।