अनुसन्धान प्रकृया रोकिंदैन: कार्की

  • 9 डिसेम्बर 2015
Image caption अख्तियारले पत्र काटेको प्रति सत्ताधारी दलहरुले पूर्वाग्रही भन्दै प्रश्न उठाएका छन्

अनियमित रुपमा अकुत सम्पत्ति जोडेको आशंकामा केही प्रभावशाली नेतामाथि थालिएको अनुसन्धान अगाडि बढ्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तले जनाएका छन्।

खासगरी सत्ताधारी नेकपा एमालेले अख्तियारको कारवाही पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको भन्दै त्यसको आलोचना गरेपछि प्रमुख आयुक्तले आफु पछाडि नहट्ने भनेका हुन्।

‘अनुचित’

यसै साताको शुरुमा खासगरी नेकपा एमाले र एकीकृत नेकपा माओवादीका प्रभावशाली नेताहरु सहित अढाई दर्जनलाई पत्र काटेपछि अख्तियारको कदमलाई दुवै दलले पूर्वाग्रही ठानेका छन्।

नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेलाले सो प्रकरणलाई लिएर पूर्वाग्रही ढंगले र प्रतिशोध साध्ने हिसाबले गरिने कुनै पनि गतिविधि अनुचित हुने निश्कर्ष निकालेको छ।

दलका वरिष्ठ नेताहरुले अख्तियारको कदमको चर्को आलोचना समेत गरेका छन्।

तर बुधबार भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले जतिसुकै आलोचना भए पनि आफुले थालेको प्रक्रिया अब नरोकिने बताए।

“नेपाली जनताले अपेक्षा गरे अनुरुपको छानबिन रोकिने वाला छैन। त्यसका लागि जुनसुकै चुनौती पनि सहन म तयार छु। साथै जस्तोसुकै परिणति भोग्न म तयार छु,” उनले भने।

प्रकृया

भ्रष्टाचार निवारण ऐन अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले बुझाउने सम्पत्ति विवरण र उक्त व्यक्तिको रहनसहनमा केही शंका लागेमा पत्र काटेर सोधपुछ गर्न सकिन्छ।

अख्तियारका अधिकारीहरुका अनुसार यो नियमित र सामान्य अनुसन्धान हो। यस्तो पत्र काटिएका व्यक्तिले अख्तियारमा गई १३ पानाको फारम भरेर बुझाउनु पर्ने नियम छ।

“वहाँहरुले १३ पाने फारम भर्नुहुन्छ। त्यो भरेर बुझाएपछि तारेखमा बस्नुपर्दैन र कुनै बन्देज पनि लाग्दैन। अब यति सानो छानबिन पनि गर्न पाइंदैन किनकि हामी त कानुनभन्दा माथि हौं भन्नुहुन्छ भने त्यसको मूल्यांकन नेपाली जनताले गरुन्,” कार्कीले बताए।

ऐन अनुसार त्यस्तो फारम भरेपछि अख्तियारले त्यसको अध्ययन गरेर थप सोधपुछ गर्न सक्छ।

त्यसपछि उसले या त सफाइ दिन सक्छ या आवश्यक ठानेमा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा चलाउन सक्छ।