कसरी खिच्ने वन्यजन्तुको आकर्षक फोटो?

  • 16 डिसेम्बर 2015

इला डेभिस

Image caption समुद्री चराले अन्यत्र हेर्ला र पानी खाउँला भनेर लोखर्केले कुरिरहेको फोटो निकै मन पराइएको छ।

५० वर्षअघि नेचुरल हिस्ट्री म्युजियम लण्डनले आयोजना गर्ने ‘वन्यजन्तु फोटोग्राफी प्रतिस्पर्धा’ त्यति बेला नौलो थियो।

अहिले आएर विभिन्न विधामा गरिने प्रतिस्पर्धामा पानीमुनि र नजिकबाट फोटो खिच्ने विज्ञहरुदेखि लिएर फोटोपत्रकार, वैज्ञानिक तथा सौखिनहरुलाई समेतपुरस्कार दिइने गरिएको छ।

हरपल नयाँ प्रविधिको विकास भईरहेको यस्तो प्रतिस्पर्धात्मक वातावरणमा वन्यजन्तुको फोटो कसरी खिचे सफल या असफल हुन सकिएला?

निर्णायकहरु त्यसका लागि एउटा मात्र सूत्र नरहेकोमा सहमत छन् तर केही महत्वपूर्ण पक्षबारे ध्यान दिन सकिने ठाउँ भने छ।

हामीले केही विज्ञहरुलाई उनीहरुका फोटोग्राफीको रहस्य बताइदिन आग्रह गरेका थियौँ।

भावनात्मक हिसाबले जोड्नुस्

‘वर्षका उत्कृष्ठ वन्यजन्तु फोटोग्राफर २०१५’ प्रतियोगितामा ४२ हजार फोटोहरुमध्येबाट लेविस ब्ल्याकवेलका फोटोहरु चुनिए।

उनी भन्छन्, “उत्तम फोटो त्यो हो जसले दर्शकलाई फोटोको विषयवस्तुबारे तत्काल र भावनात्मक रुपमा सोच्न बाध्य बनाउँछ।”

मानिसहरु आँखामा आँखामा जुधाउनुलाई महत्व दिन्छन्।

अतः एउटा जनावरसँग आमनेसामने गरेका तस्वीरले मान्छेलाई सन्तुष्टि दिन्छ।

त्यसैगरी शिकारी जनावर र उसको खाना बन्ने जनावरबीचको सम्बन्ध देखाउने तस्वीर या आमा र बच्चा जनावरबीचको सम्बन्ध चित्रण गर्ने तस्वीरले मानिसलाई जनावरको संसारमा पुर्याउन सक्छ।

युवा फोटोग्राफर कार्लोस पेरेज नाभालले खिचेको, एउटा लोखर्केले पानी खान समुन्द्री चराको सामना गरिरहेको तस्वीरले ‘वर्षका उत्कृष्ठ वन्यजन्तु फोटोग्राफर २०१५’ प्रतिस्पर्धामा निकै प्रशंसा पाएको थियो।

तस्वीरहरुले दर्शकको अनुभवसँग मेल खाने चाखलाख्दा कथा सुनाउँछन्।

उत्कृष्ठ कुनै तस्वीर आफैंले पुरा कथा भनिरहेका हुन्छन्।

तस्वीरले नै शक्ति सन्तुलन, पारिवारिक सम्बन्ध वा यौन तनाव प्रष्ट पार्न सक्छन्।

हाम्रो दृश्य बुझाई निकै सशक्त रुपमा हाम्रो भावनासँग जोडिएको हुन्छ।

फोटोग्राफरहरुले होशियारीपूर्वक प्रकाश र रंगको प्रयोग गरेर दर्शकहरुलाई प्रभावित पारी प्रतिक्रिया पाउने अवस्था सृजना गर्न सक्छन्।

निर्णायक मण्डलकी एकजना सदस्य सान्ड्रा बारटोका भन्छिन्, “म जस्तो जनावर छ ठ्याक्क त्यस्तै देखाउनमा भन्दा पनि जनावरप्रति मेरो कस्तो भावना हुन्छ त्यसलाई सबैका अगाडि प्रस्तुत गर्ने प्रयास गर्छु।”

Image caption जलवायु परिवर्तन र धेरै माछा मार्ने समस्याका कारण जेलीफिशको संख्या बढिररहेको बताइन्छ।

“म चाखलाग्दा र सुन्दर तस्वीरहरु प्राप्त गर्न चाहन्छु जसले जनावरको मनस्थिति या कुनै विस्मय झल्काओस्।”

'कम्पोजिसन' र 'कन्ट्रास्ट' बीच सन्तुलन मिलाउने कला

हाम्रो दृष्टिकोण जटिल छ र त्यसको महत्वपूर्ण तत्व 'कन्ट्रास्ट' हो।

ब्रिटेनको एसेक्स विश्वविद्यालयमा दृश्यहरुको बुझाई पक्षबारे अध्ययन गरिरहेका अनुसन्धानकर्ताहरुका अनुसार २० प्रतिशत जति मानिसहरुले उच्च 'कन्ट्रास्ट' युक्त दोहोरिएका र अस्वाभाविक तस्वीरहरु मन पराउन्नन्।

त्यसलाई खतरनाक जनावरहरु हेर्दा सावधान हुने प्रवृतिसँग जोडेर हेर्ने गरिएको छ।

उच्च 'कन्ट्रास्ट' को असर कम पार्न फोटोग्राफरहरुले प्रकाश र 'फोकस' गर्ने विधि प्रयोग गर्न सक्छन् अथवा नियतबश आँखाले मन पराउन सक्ने गरी ती तत्वहरुलाई समावेश गर्न सक्छन्।

‘वन्यजन्तु फोटोग्राफर वर्ष’ मा अन्तिम चरणमा पुगेका एकजना थोमसले पनि शार्क र गोताखोरको छायाँको तस्वीरमा आश्चर्यजनक तरिका अपनाएका छन्।

निर्णायकमण्डलका धेरै सदस्यहरु सान्ड्रा जस्तै आफैं अनुभवी फोटोग्राफरहरु हुन्।

यसकारण उनीहरुले तस्वीर लिँदा फोटोग्राफरबाट प्रयोग भएका सीप थाहा पाउन सक्छन्।

सान्ड्रा भन्छिन्- “राम्रो फोटोका लागि सन्तुलित कम्पोजिसन, राम्रो प्रकाश, विशेष क्षण र पूर्ण प्राविधिक गुणस्तर हुनुपर्छ।”

विशेषज्ञहरु फोटोग्राफरहरुले सही तस्वीर लिने प्रयत्नमा कसरी र कस्ता खाले चुनौती पार गरेका छन् भन्ने थाहा पाउन अरुमाथि भर पर्छन्।

उदाहरणका लागि पानीमुनिको फोटो खिच्ने एलेक्स मस्टर्डले गत वर्ष समुद्री शंखेकिराको तस्वीर लिन सफल हुँदाको अनुभव उनले निर्णायक मण्डललाई सुनाएका थिए।

उनी भन्छन्, “पानीमुनिको फोटोको सबैभन्दा ठूलो चुनौती संभवतः प्रकाश हो,

"पहिलोः पानीमाथि भन्दा पानीमुनि प्रकाश फरक हुन्छ र उत्तम तस्वीरले यसलाई समेटेको हुन्छ,

"दोस्रोः पानीमुनिको वास्तविक रंग कायम राख्न फ्ल्याशबाट कृत्रिम प्रकाश दिन आवश्यक छ,

"प्रतिभावान फोटोग्राफरहरुमा रंग प्राकृतिक रुपमा थप्न सक्ने खुबी हुन्छ ताकि हेर्नेहरु प्रकाशको कृत्रिमता महसुस नगरी वस्तुको पूर्ण रंगमा रमाउन्।”

विजेताबाट सिक्नुहोस्

वन्यजन्तु तस्वीरका धेरै दर्शकहरुको भावना पनि समेटियोस् भनेर निर्णायक मण्डलमा गैरप्राविधिक पृष्ठभूमिका सदस्यहरु पनि राखिन्छन्।

पूर्व पत्रकार तथा कुनैबेला गेटी इमेजेजका सृजनात्मकता निर्देशक लेविस भन्छन् मौलिक प्रविधि र स्पष्ट सन्देशमा उनलाई धेरै चासो छ।

उनको सुझाव छ - आफ्ना सहकर्मीको काममा ध्यान दिए धेरै फाइदा हुनसक्छ।

उनी थप्छन्, “निर्णायकको रुपमा हामी पूर्वविजेताका काम हेरेर उस्तै खालको काम पुन: पुरस्कृत नहोस् भनेर सचेत रहन्छौं,

"फोटोग्राफीले गर्न सक्ने सीमा तन्काएका र वन्यजन्तुबारे हामीलाई थाहा भएको भन्दा बढी जानकारी थप्ने किसिमका तस्वीरलाई हामी पुरस्कृत गर्न चाहन्छौं।”

मौलिकताको चुनौती र धैर्यको पुरस्कार

सान्ड्रा, एलेक्स र लेविस जस्ता विज्ञहरुसँग वर्षौंको अनुभव छ।

त्यसैले उनीहरुले कहिल्यै नदेखेको चीज देखाए मात्र उनीहरुको ध्यान तान्न सकिनेछ।

डिजिटल फोटोग्राफी धेरै अर्थमा दूर्लभ कुराहरु रेकर्ड गर्ने माध्यम बनेको छ।

वैज्ञानिक र संरक्षणविद्हरुका क्यामेराले कैद गरेका दूर्गम क्षेत्रका मायावी जस्ता लाग्ने जनावरहरुका तस्वीरका लागि समेत वार्षिक प्रतिस्पर्धा हुने गरेको छ।

अहिले आएको प्रविधिको बाढी र प्राकृतिक जगत रेकर्ड गर्ने धेरै मानिसहरुको उत्सुकताका कारण नयाँ कुरा विरलै हात लाग्छन्।

कैयौं प्रजातिहरु दुख:दायी रुपमा घट्दो संख्यामा रहेकाले क्यामेरामा नयाँ जनावर कैद गर्नु पहिलेभन्दा झन् बढी चुनौतीपूर्ण भएको छ।

अस्वाभाविक चालचलन या बानीबेहोराको फोटो खिच्नुपर्छ भन्ने एउटा व्यवहारिक सुझाव दिन सकिन्छ तर त्यसका लागि समर्पण चाहिन्छ।

Image caption रेड फक्सहरुले आर्कटिक फक्सहरुसँग प्रतिस्पर्धा गर्ने र उनीहरुको शिकार गर्ने क्रम बढ्दो छ।

त्यसैकारण वन्यजन्तु फोटोग्राफरहरु धैर्यताका लागि प्रख्यात छन्।

त्यसका लागि आवश्यक पर्ने घण्टौं लामो समय कसरी झेल्ने भन्नेबारे एलेक्सिसको सुझाव छ- "आफूलाई मन पर्ने वस्तुको मात्र फोटो लिनुस् त्यसबाट तपाइँलाई सांच्चिकै केही गर्न प्रेरणा मिल्न सक्छ।

"आफ्नो क्यामेराको प्राविधिक क्षमतामा अल्मलिनुभन्दा घर नजिकैका वस्तुको फोटो खिचेर अभ्यासमा समय बिताउनु अझ बढी महत्वपूर्ण हुन्छ।

भाग्य भन्ने चीज पनि त्यससँग पक्कै जोडिएको छ।

कठफोडुवाको पिठ्युमा चढेर उडेको लोखर्केको जस्तो फोटो खिच्न सही समयमा सही ठाउँमा तपाईं हुनैपर्यो।

तर आफ्नो विषयवस्तुको ज्ञान या आफ्नो गाउँठाउंको पूरा ज्ञानले पनि उपयुक्त नतिजा दिन सक्छ।

दीर्घकालीन छाप छोड्नुस्

त्यस बाहेक विशेष सन्देश प्रवाह गर्न विश्व घटनाको ज्ञान, ठूला वातावरणीय मुद्दाहरु र संरक्षण चासोबारे थाहा पाउन आवश्यक छ।

पुरस्कार विजेता डन गुटोस्कीले खिचेका दुईवटा ब्वाँसोका फोटोहरु फगत फोटो मात्रै होइनन् जलवायु परिवर्तनको प्रभाव दर्शाउने माध्यम पनि हुन्।

'परिवर्तन अथवा द्वन्द्व' शीर्षकमा नयाँ दृष्टिकोण प्रस्तुत गर्दा त्यसले दर्शकहरुलाई लामो समयसम्म सोच्न बाध्य पार्न सक्छ।

लेविसका अनुसार वन्यजन्तु फोटोग्राफीमा त्यो महत्वपूर्ण पक्ष हो।

दर्शकहरुलाई आकर्षित पार्ने ‘वर्षका उत्कृष्ट वन्यजन्तु फोटोग्राफर’ प्रतियोगीताले दर्शकलाई आकर्षित पार्ने त छँदैछ यो वन्यजन्तु संरक्षण गर्ने चेतना जगाउने राम्रो अवसर र जिम्मेवारी पनि हो।

अर्को वर्षको ‘वर्षका वन्यजन्तु फोटोग्राफर’ प्रतियोगीता जेनुअरी ४ तारिखमा शुरु भई फेब्रुअरी २५ मा सकिनेछ।