भारतलाई प्रश्न: संविधान नबन्दै संशोधन चाहने?

  • 10 डिसेम्बर 2015

अनिल यादव

सुनौली नाका, बीबीसी हिन्दी

तस्वीर कपीराइट MANOJ SINGH
Image caption सुनौली नाकामा भारततर्फ १४ किलोमिटर परसम्म ट्रक लाम लागेका छन्

भारतीय सरकारले अलि बढी नै जोड दिएर उसको तर्फबाट नेपालमाथि कुनै किसिमको नाकाबन्दी नगरिएको भन्दै आएको छ।

तर नेपालमा खाना पकाउने ग्याँस, पेट्रोलियम पदार्थ र औषधि लगायतका दैनिक उपभोग्य वस्तुहरुको चरम अभाव सृजना भएको छ।

सुनौली सीमा नाकामा उभिँदा राज्यसभामा विदेशमन्त्री सुष्मा स्वराजले दिएको बयानको पछाडि निहित अर्थ देखिन्छ।

खासमा यो नियन्त्रित नाकाबन्दी हो, जसको रिमोट कन्ट्रोल माथि कोही अज्ञातको हातमा छ र त्यही माथिको नाममा तल धेरै खेलहरु भईरहेका छन्।

रोकटोक

स्वराजले राज्यसभामा भनेकी थिइन, भारतबाट नेपाल प्रवेश गर्ने ट्रकहरुलाई नेपालका मधेशी आन्दोलनकारीहरुले नै रोकेर राखेका छन्।

तस्वीर कपीराइट Manojkumar Singh

सुनौली सीमा नाकामा चाहिँ कुनै आन्दोलन भईरहेको छैन।

यद्यपि दुई-तीन दिनको अन्तरालमा निश्चित संख्यामा एकपटक ट्रकहरुलाई नेपाल जान दिइन्छ जबकि बस लगायतका सवारी साधनको हकमा त्यस्तो कुनै रोकटोक छैन्।

१४ किलोमिटर लामो ट्रकको लाम नौतनवांदेखि निकै टाढासम्म देखिन्छ।

यस्तो किन? यो प्रश्नको जवाफमा मात्र होइन, हरेक प्रश्नको जवाफमा भन्सार र सशस्त्र सुरक्षा बलका अधिकारीहरुको जवाफ हुन्छ- माथिको आदेशमा यस्तो भईरहेको छ।

माथिका कसको आदेशमा नि? यो प्रश्नपछि उनीहरु यसरी हाँस्छन जसको अर्थ हुन्छ तपाईं कति सोझो हुनुहुन्छ कि जसलाई नेपालका पाँच वर्षका बच्चाले पनि सरापिरहेका छन उसलाई चिन्नुहुन्न?

संशोधन

यही प्रश्न पारि गएर नेपालमा सोध्दा आश्चर्यमा पार्ने खालका प्रश्नहरु तेर्स्याइन्छन, मानौं जवाफ खोज्ने संवाददाता नै भारत सरकार होस्।

धेरै नेपालीहरुले प्रश्न गरे- कस्तो छिमेकी हो तपाईंहरु? हाम्रो संविधान बन्न पाएको छैन तर तपाईंहरुले संशोधन गराउन थाल्नुभयो? हामीले त्यसो नगर्दा हाम्रो खानपीन नै बन्द गर्न थाल्नुभयो?

भन्सार अधिकारीहरु जाँचपछि प्रत्येक दिन करिब सयवटा ट्रकलाई नेपाल जान दिने गरेको दाबी गर्छन्।

तर कुन-कुन ट्रकलाई जान दिने भन्ने निर्क्यौल गर्न धेरै दाउपेच र खेल हुन्छन्।

महाराजगञ्ज जिल्लाका कोल्हुई र नौतनवांमा भारतीय आयल निगम र नेपाल आयल निगमका ग्याँस बुलेटहरुलाई ट्रकहरुको लाइनबाट हटाएर चौरमा राखिएको छ।

औषधि बोकेका ट्रकहरुलाई प्राथमिकताका आधारमा जान दिने गरिएको छ तर पेट्रोल, डिजेल र ग्याँस बोकेका गाडीहरुलाई प्रहरीले जान दिंदैन जबकि मार्बल, कार, मोटरसाइकल बोकेका ट्रकहरुलाई जान दिन्छन्।

नेपालमा सबैभन्दा बढी इन्धनको अभाव भएको छ।

ट्रकका लाम हेर्न पुगेका रमितेहरु पनि भन्छन, हिँडडुल बन्द गरेर भारत नेपाललाई बाध्य पार्न चाहन्छ।

बदनाम

ट्रक चालकहरुका अनुसार दुई महिनादेखि लाममा रहेका ट्रकहरुमध्ये नेपाल प्रवेश गर्न दिने ट्रकबाट प्रहरीले पैसा असुल्छन्।

तस्वीर कपीराइट MANOJ SINGH

सामान्य एउटा ट्रकको ३०० रुपैयाँ, ठूलो ट्रकको ५०० र कन्टेनरहरुको हकमा अझ बढी पैसा प्रहरीलाई दिनुपर्छ।

एकदिन ढिलाई हुँदा आयातकर्ता कम्पनीले एउटा कन्टेनरमा १३ हजार रुपैयाँ घाटा बेहोर्नुपर्छ।

हाल सुनौली सीमा नाकाका सडक र नौतनवां रेल्वे स्टेशनमा सालाखाला २० अर्ब भारु बराबरका सामानहरु अड्किएका छन।

ट्रकबाट झारेर साना गाडी र ठेलाबाट सामानहरु नेपाल लैजाने प्रयास भईरहेको छ।

नेपालका व्यापारी तथा उद्योगहरुले सामान अर्डर फिर्ता लिईरहेका छन् किनकि कसैलाई थाहा छैन नाकाबन्दी कहिले खुल्छ भनेर।

घुससम्बन्धी आरोपबारे प्रश्नमा प्रहरीको भनाई छ, हामीलाई त्यसै बदनाम गरिंदैछ, केन्द्र र उत्तर प्रदेशका मन्त्री तथा ठूला नेताहरुले आफ्ना खास उद्योगपतिहरुको ट्रक जान दिनुस् भनेर हाम्रा अधिकारीहरुलाई फोन गर्ने गरेका छन, हामी अधिकारीहरुको आदेशमा ती ट्रकहरुलाई लामबाट निकालेर जान दिन्छौँ अनि हामीमाथि आरोप लगाउँछन।