‘प्यारिसमा शनिबारसम्ममा सम्झौता हुने आशा’

  • 11 डिसेम्बर 2015
तस्वीर कपीराइट AFP

प्यारिसमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको अध्यक्षता गरिरहेका फ्रान्सका विदेशमन्त्रीले शनिबारसम्ममा एउटा विश्वव्यापी सम्झौतामा पुगिनेप्रति आफू निकै आशावादी भएको बताएका छन्।

लराँ फाब्युसले सञ्चारकर्मीहरुलाई भनेका छन्, शनिबार विहानसम्ममा एउटा परिस्कृत मस्यौदा प्रस्तुत हुनेछ जसको आधारमा सम्झौता हुनेछ।

संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले जलवायु परिवर्तनसंग जुध्न विकासशील देशहरुलाई आर्थिक सहायता दिनुपर्नेलगायत अझै थुप्रै विषयहरुमा सहमति भइ नसकेको बताएका छन्।

उद्देश्य

प्यारिसमा जारी सम्मेलनमा वार्ताकारहरुले शनिबारसम्ममा जलवायु परिवर्तनबारे एक विश्वव्यापी सम्झौता गर्ने उद्देश्य राखेका छन्।

तोकिएको भन्दा एकदिन ढिलोसम्म तन्किएको सम्मेलनमा फ्रान्सका विदेशमन्त्री लराँ फाब्युसले आफूहरु सम्झौताको नजिक रहेको र त्यो शनिबारसम्ममा हुने आशा व्यक्त गरेका छन्।

विदेशमन्त्री फाब्युसले प्यारिसमा पत्रकारहरुलाई आफूले शनिबार विहान नयाँ मस्यौदा प्रस्तुत गर्ने बताएका छन्, जुन पारित हुने र त्यो मानवताका लागि एउटा ठूलो फड्को हुने उनले बताए।

उनले भने, "म खाली भन्न चाहन्छु कि हामी त्यहाँ पुग्नै लागेका छौं। म आशावादी छु कि यो महत्वाकांक्षी सम्झौताका निम्ति तयारी भएको छ। र बैठकको अन्त्यमा भोलि बिहान सबै पक्ष समक्ष मैले एउटा मस्यौदा प्रस्तुत गर्न सक्नेछु। जुन पारित हुने र मानव जगतका लागि एक महान फड्को हुने मैले ठानेको छु।"

तर अमेरिकी विदेश मन्त्री जन केरीलगायत प्रतिनिधिहरुले अझै जटिल विषयहरु समाधान भइ नसकेको बताएका छन्।

संवाददाताहरुले भनेका छन्, चीन र भारत जस्ता देशहरुले कार्बन उत्सर्जन घटाउनेबारे सम्झौता त चाहेका छन् तर त्यसको ठूलो भार अमेरिकाले बहन गर्नुपर्ने आश राखेका छन्।

रणनीति

सम्मेलनमा सहभागीहरुले जोखिमयुक्त देशहरुलाई सुरक्षित राख्ने हो भने विश्वको तापमान वृद्धिलाई दुई डिग्री सेल्सियस भन्दा कममा सीमित गरिनुपर्ने धारणामा सहमति जनाएका छन्।

उनीहरुले तापमान वृद्धि १.५ डिग्रि सेल्सियसमा सीमित राख्नुपर्ने बताएका छन्।

सम्मेलन विश्वव्यापी सम्झौता हुने अन्तिम चरणमा पुगेको छ जसले जलवायु परिवर्तनसँग जुध्नका लागि दिगो रणनीति ल्याउने छ।

संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले वार्ता निकै जटिल, कठिन तर मानवताका लागि महत्वपूर्ण रहेको बताएका छन्।

उनले सम्मेलनमा भाग लिएकाहरुलाई विश्वव्यापी दुरदर्शीता राख्दै स्थानिय चासो सम्बोधन गर्न आह्वान गरेका थिए।