तापक्रम वृद्धि 'दुई डिग्रीभन्दा तल’ राखिने

  • 12 डिसेम्बर 2015
तस्वीर कपीराइट

प्यारिसमा वार्ताका आयोजकहरुले जलवायु परिवर्तनसँग जुध्नेबारेको महत्वपूर्ण सम्झौता सार्वजनिक गर्दैछन्।

फ्रान्सेली विदेशमन्त्री लोरां फ्याब्युसले उक्त सम्झौताको अन्तिम मस्यौदा निष्पक्ष र कानूनी रुपमा बाध्यकारी भएको बताए।

उनले तापक्रम वृद्धिको सीमालाई दुई डिग्री सेल्सियस भन्दा तल राख्ने पनि जनाएका छन्।

उनले भने, “मेरो दृढ विश्वास के छ भने हामीले एउटा महत्वकांक्षी र तटस्थ सम्झौता तयार गरेका छौं।”

सम्झौता

दुई हप्ताको छलफलपछि तयार भएको उक्त मस्यौदा प्यारिस सम्मेलनमा सहभागी भइरहेका अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलसमक्ष पेश हुँदैछ।

उक्त सम्झौता अनुमोदन हुने ठानिएपनि त्यसमा केही देशहरुले असहमति जनाउन सक्ने देखिएको छ।

नयाँ सम्झौता सन् २०२० बाट कार्यान्वयनमा आउने बताइएको छ।

उत्सर्जन नियन्त्रण गर्ने प्रतिवद्धता जनाउने पहिलो जलवायुसँग सम्बन्धित सम्झौतामा झण्डै २ सय वटा देशले सहमति गर्ने प्रयास गरिरहेका छन्।

तस्वीर कपीराइट AP

अब मन्त्रीहरुले प्रस्तावित सम्झौता अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे निर्णय गर्नेछन्।

राष्ट्रसंघले आयोजना गरेको उक्त सम्मेलन लक्ष्य, क्षतिपूर्ति र विश्वासमा देखिएको मतभिन्नताका कारण लम्बिएको थियो।

मस्यौदा अनुमोदनका लागि प्रस्तुत गरिनुअघि जलवायु सम्बन्धी राष्ट्रसंघीय निकायका प्रवक्ताले विवादहरु साँघुरिएको बताएका छन्।

मस्यौदा सार्वजनिक हुनुअघि ‘ग्रीन पिस’ भन्ने संस्थाका जलवायु राजनीति सम्बन्धी प्रमुख मार्टिन केशरले खनिज इन्धनको प्रयोग कहिले र कसरी हटाउने र आर्थिक विषयहरुमा अझै असमझदारी रहेको बताए।

एक फ्रान्सेली अधिकारीले समाचारसंस्था एएफपीलाई उक्त दस्तावेज झन्डै २० पृष्ठ लामो भएको बताएका थिए जुन विगतमा तयार भएको मस्यौदा भन्दा सात पृष्ठ कम हो।

र वर्षदेखि निरन्तर प्रयास भएपनि अन्तिम समयमा भएका छलफलबाट तयार भएको मस्यौदाले हरितगृह ग्यासको उत्सर्जन कटौती गर्न सबै देशहरुलाई बाध्य पार्ने उद्देश्य लिएको छ।