फ्रान्सेली निर्वाचन: नेसनल फ्रन्ट ‘तेस्रो स्थानमा’

  • 14 डिसेम्बर 2015
चुनावी माहोल तस्वीर कपीराइट Reuters
Image caption चुनावमा आफ्नो पराजय स्वीकारेपनि मारियन लेंपेनले आफ्नो लडाईँ जारी रहने बताएकी छिन्

फ्रान्समा भएको दोस्रो चरणको चुनावमा अति-दक्षिणपार्टी नेसनल फ्रन्टले कुनै एक क्षेत्रमा विजय हासिल गर्न विफल भएको प्रारम्भिक मत सर्वेक्षणले देखाएको छ।

मत सर्वेक्षणको प्रारम्भिक परिणाम अनुसार एक साताअघि पहिलो चरणको मतदानमा १३ मध्येका ६ क्षेत्रमा अग्रस्थानमा रहेको भएपनि अहिले नेसनल फ्रन्ट तेस्रो स्थानमा सीमित हुन पुगेको छ।

तर सो दलकी नेतृ मारियन लेपेँनले आफ्नो राजनीतिक लडाई जारी रहने बताएकी छिन्।

मत सर्वेक्षणको भविष्यवाणी अनुसार निकोला सार्कोजीको मध्य-दक्षिणपन्थी रिपब्लिकन पार्टीले अधिकांस सीट जितेर अग्रस्थानमा आउने छ।

सो दलले सत्तारुढ सोसलिस्ट दललाई पनि पछि पार्नेछ।

'भ्रम'

आफ्नो पराजय स्वीकार्दै नेसनल फ्रन्टकी नेता मारियन लेपेँनले मूलधारका पार्टीहरुको मोर्चाबन्दीका कारण आफ्नो दल अलि पछाडी परेको बताइन्।

आफ्ना समर्थकहरुलाई उनले भनिन् “झुठ र भ्रमको खेतीका कारण आफ्ना मतदाताहरु अत्यन्त असभ्य तरिकाले अधिकारविहिन बनाइएका हुन्”।

उनले भनिन्, “पहिलेको चुनावमा भन्दा अहिले हाम्रो परिणाम राम्रो आएको छ। पहिला हाम्रो ९ प्रतिशत सीट थियो, अहिले ३० प्रतिशत पुगेको छ।”

“हामी सबै स्थानमा प्रमुख विपक्षी शक्ती भएका छौं।”

मारियन लेपेँन देशको उत्तरी भागमा उम्मेदवार बनेकी थिइन् भने उनकी एक महिला आफन्त पनि दक्षिणी भागमा उम्मेदाबार बनेकी थिइन्।

धक्का

उनीहरुले पहिलो चरणमा ४० प्रतिशत मत हासिल गरेपछि निकटतम प्रतिद्वन्द्वी सोसलिस्ट उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका थिए।

परिणाम स्वरुप रिपब्लिकन उम्मेदवारहरुले उनको दलका उम्मेदवाहरुलाई पछि पार्दै आफू अग्रस्थान हासिल गर्न सफल भए।

प्यारिसस्थित बीबीसीका ह्युज कोफील्ड भन्छन् परिणामले मरियन लेपेँनलाई ठूलै धक्का लागेको छ।

उनी भन्छन्, “ फ्रान्समा ठूलो परिवर्तन भएको छैन र शक्ती प्राय दुई ठुला दलले बाँडीचुँडी लिने गरेका छन्। तर देशमा वेरोजगारी बढिरहेको छ र अहिले आएर आतंक पनि थपिएको छ।”