रुवाण्डा नरसंहारका दोषी विरुद्ध अन्तिम फैसला

  • 14 डिसेम्बर 2015

रुवाण्डाका लागि अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्युनलले सन् १९९४ मा भएको आम नरसंहारका लागि जिम्मेवारहरु विरुद्ध अन्तिम फैसला सुनाएको छ।

उक्त अदालतले एकजना भूतपूर्व मन्त्री सहित छ जनालाई मानवता विरोधी अपराध गरेको अभियोगमा दोषी ठहर गरेको छ।

तान्जनियाको आरुशा शहरमा रहेको उक्त अदालत रुवाण्डाको आमनरसंहारको घटनाका पछाडि रहेका संदिग्धहरुलाई कार्वाही गर्न संयुक्त राष्ट्र संघले स्थापना गरेको थियो।

फैसला

तस्वीर कपीराइट Getty

उक्त अन्तर्राष्ट्रिय फौजदारी अदालतले मानवता विरोधी अपराध गरेको अभियोगमा दोषी ठहर गरिएका सबै अभियुक्तहरुले गरेका पुनरावेदनमाथि आफ्नो अन्तिम फैसला सुनाएको थियो।

अब यसपछि उक्त ट्राइब्युनल भंग गरिनेछ।

पुनरावेदन गरेका सबै छ जनालाई दोषी ठहर गरिएको भएतापनि ती मध्ये तीनजनालाई दिइएको आजन्म कारावासको सजायलाई घटाएर ४७ वर्ष पारिएको छ।

सन् १९९५ मा संयुक्त राष्ट्र संघले रुवाण्डामा भएको आमनरसंहारको घटनाका दोषीहरुलाई कार्वाही गर्ने उद्देश्यले उक्त अन्तर्राष्ट्रिय ट्राइब्युनलको स्थापना गरेको थियो।

दोषी

त्यसपछिका दुई दशकमा उक्त ट्राइब्युनलले ६१ जना व्यक्तिहरुलाई रुवाण्डाको आमनरसंहारको घटनामा अन्तर्राष्ट्रिय कानुनहरुको गम्भीर उल्लंघन गरेकोमा दोषी ठहर गरी सजाय सुनाएको थियो।

धेरैले उक्त ट्राइब्युनलले हासिल गरेको उपलब्धिको प्रशंसा गरेका छन्।

तर रुवाण्डाका राष्ट्रपति पल कगामे लगायतका अन्यले भने उक्त अदालतले आफूले गर्न सक्ने जति काम नगरेको बताउने गरेका छन्।