'भूकम्प पीडितको संख्यामा वृद्धि'

  • 16 डिसेम्बर 2015

सरकारले पहिला संकलन गरेको आंकडाभन्दा भूकम्प पीडितहरुको संख्या निकै धेरै पाइएको अधिकारीहरुले बताएका छन्।

संख्या बढेपछि भूकम्प पीडितहरुलाई जाडो महिनाबाट जोगाउन भन्दै सरकारले राहतस्वरुप १० हजार रुपैयाँ वितरण गर्ने कार्यमा असर परेको प्रभावित जिल्लाका अधिकारीहरुले बताएका हुन्।

सरकारले भूकम्प पीडितहरुको गणना गरेपछि पनि हजारौंले थप निवेदन दिएकाले यस्तो समस्या देखिएको हो।

यो कठिनाईमाझ कतिपय जिल्लाका पीडितहरुले रकम पाउनमा ढिलाई हुने देखिएको छ।

निकासा

नुवाकोट जिल्लामा ७६ हजार परिवार भूकम्प पीडित भएको तथ्यांक गृह मन्त्रालयले संकलन गरेपनि छुटेकाहरुले निवदेन दिएपछि त्यहाँ पीडितहरुको संख्या ९० हजार पुगेको बताइएको छ।

नुवाकोटसहित भूकम्प पीडित सबैजसो जिल्लाहरुमा पीडितहरुको संख्या यसरी नै बढेपछि जाडोयाम धान्न सरकारले दिने भनिएको रकम वितरण गर्न गाह्रो भइरहेको अधिकारीहरुले बताएका छन्।

गोरखा जिल्लामा त्यस्तै समस्या रहेको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमिल्सिनाले बताए।

उनले भने, "शुरुमा काठमाडौंबाट आउने इन्जिनियरहरु कोही गाउँका घर घरमा पनि पुग्नुभयो, कोही टोलमा मात्र पुगेर फर्किदा पीडितहरु छुटेका छन्, मेरो जिल्लामा साढे सात हजारको निवेदन परेको छ, त्यसलाई छानविन गरेर टुंग्याउने प्रयास गर्दैछौं।"

सरकारले जाडोयामबाट बच्न भूकम्प पीडित प्रति परिवारलाई १० हजार रुपैयाँ वितरण गर्ने निर्णय गर्दै ६ अर्ब २ करोड ५६ लाख निकासा गरिसकेको छ।

गुनासो

पीडितको संख्या बढेसँगै रकम अपुग हुने भएपछि अधिकारीहरुले फेरी सरकारसँग थप रकम माग्न थालेका छन्।

नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने, "मन्त्रालयले ५८ करोड रुपैयाँ मात्र निकासा दिएको थियो, हामीले २१ करोड रुपैयाँ थप माग गरेका छौं, त्यो आएपछि बाँकी सबैलाई रकम वितरण गर्नेछौं।"

तर यो अन्यौलमा वास्तविक पीडितहरुले भने जाडोयाम बढिसक्दा पनि रकम पाउन नसकेको गुनासो गरिरहेका छन्।

गोरखा बारपाकका एक पीडित उत्तम विक भन्छन्, "हामी सरकारले रकम दिन्छ कि भन्ने आशा गरेर बसिरहेका छौं, पाइहाल्छ भन्ने आशा नि मरिसक्यो अब त बारपाकबासीलाई।"

जिल्लाका अधिकारीहरुले स्थानीय निकायको सहयोगमा संयन्त्र बनाई भूकम्प पीडितको वास्तविक संख्या निकाल्ने प्रयास गरिरहेको पनि बताएका छन्।