कोलम्बियाः फार्क विद्रोहीसँग महत्वपूर्ण सम्झौता

  • 16 डिसेम्बर 2015
तस्वीर कपीराइट Reuters
Image caption कोलम्बियामा ५० वर्ष लामो सशस्त्र द्वन्द्वमा दुई लाख मानिसहरुको ज्यान गएको छ।

कोलम्बिया सरकार र वामपन्थी फार्क विद्रोहीले आधा शताब्दीदेखि जारी द्वन्द्व अन्त्य गर्ने दिशातर्फ महत्वपूर्ण मानिएको एउटा सम्झौतामा हस्ताक्षर गरेका छन।

सरकार र फार्क विद्रोहीबीच भएको सम्झौता अनुसार पीडितहरुलाई परिपूरण दिइनेछ।

र, अन्तिम शान्ति सम्झौता भएपछि युद्ध अपराधसम्बन्धी मुद्दा हेर्नका निम्ति विशेष न्यायिक निकाय गठन गरिनेछ।

विद्रोहीहरुले गरेको भनिएका युद्ध अपराधहरुबारे कसरी मुद्धा चलाउने भनी त्यसले व्याख्या गर्नेछ।

आममाफी

आममाफी दिने भएपनि युद्ध अपराध र मानवताविरुद्धको अपराधमा माफी नदिइने सहमति भएको छ।

सन् २०१६ को मार्च २३ तारिखमा अन्तिम शान्ति सम्झौता गर्न सरकार र विद्रोही पक्ष सहमत भएका छन।

सम्झौतामा हस्ताक्षरपछि राष्ट्रपति ह्वा म्यानुअल सान्तोसले देशवासीका नाममा संबोधन गर्दै शान्ति सम्झौतालाई अनुमोदन गराउन जनमतसंग्रह गराइने बताए।

सम्झौता अनुसार सत्य निरुपण आयोग र द्वन्द्वका क्रममा बेपत्ता भएका मानिसहरुको अवस्था पत्ता लगाउनका निम्ति एउटा इकाई गठन गरिनेछ।

विस्थापित

त्यसैगरी पीडितहरुको सुरक्षाको ग्यारेण्टी गरिने सम्झौतामा उल्लेख छ।

कोलम्बिया सरकार र फार्क विद्रोहीबीच तीन वर्षयता वार्ता हुँदै आएको थियो।

कोलम्बियामा ५० वर्ष लामो सशस्त्र द्वन्द्वमा दुई लाख मानिसहरुको ज्यान गएको छ भने अनुमानित ६० लाख विस्थापित भएका छन।