जानकी मन्दिर झडपमा दर्जनौँ घाइते

  • 16 डिसेम्बर 2015

रामजानकी विवाह महोत्सवमा राष्ट्रपति विद्या भण्डारीले सहभागिता जनाएको विरोधमा भएका झडपहरुमा दर्जनौ घाइते भएका छन्।

झडपका क्रममा ७० जना भन्दा बढी घाइते भएको प्रहरी एवं आन्दोलनकारीले बताएका छन्।

जानकी मन्दिरको दर्शन गरेपछि बोल्दै राष्ट्रपति भण्डारीले जनकपुर र आसपासको क्षेत्रलाई मिथिला प्रदेश नामाकरण गर्ने चर्चा प्रति विगतमा आफूलाई खुसी लागेको बताइन्।

चार महिनादेखि दक्षिणी तराइमा जारी आन्दोलनको कारण यसपटकको विवाह महोत्सवमा भारतको अयोध्याबाट जन्ती आउने परम्परा कार्यन्वयन हुन सकेन।

भ्रमण

तस्वीर कपीराइट Brij Kumar Yadav

बिहान साढे दश बजेसम्म जानकी मन्दिरमा बजेको सहनाइ धेरै बेर बज्न सकेन।

राष्ट्र्पति विद्यादेवी भण्डारीले मन्दिरमा करीब १५ मिनेट सम्म पुजा गरी फर्किन नपाउंदै मन्दिर परिसर युद्ध मैदान जस्तै बनेको थियो।

प्रहरीको घेरा तोडदै प्रदर्शनकारीहरुले मन्दिरमा प्रवेशगरि तोडफोड गरेका थिए।

दिनभर स्थिति तनावपूर्ण भएपछि विवाह पञ्चमी महोत्सव प्रभावित भएको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जनाए।

उनले भने,“कसैलाई पनि निम्तो दिइएको थिएन, तर राष्ट्रप्रमुख आफै आउनुभएकाले उहाँलाई स्वागत गर्नु हाम्रा लागि अनिवार्य भयो।”

झडपका कारण सीमावर्ती भारतीय क्षेत्र र जनकपुर वरिपरिको ग्रामीण भेगबाट आएका श्रद्धालुहरु पनि समस्यामा परे ।

पुजापाठपछि संचारकर्मीसँग बोल्दै राष्ट्रपति भण्डारीले मिथिला प्रदेश नामको चर्चा चलेबाट आफू खुशी भएको बताइन्।

उनले भनिन्, “संघीयताको कुराहुँदा मिथिला प्रदेश नाम राख्नुपर्छ भन्ने एकचोटि चर्चा भएको थियो, अनि मैले खुशी व्यक्त गरेको थिए। यसलाई एउटा धार्मिक सभ्यताको रुपमा र दुई देशबीचको गहिरो मित्रताको रुपमा जनसमुदायहरुले आफ्नो गौरवको रुपमा ग्रहण गर्नुभएको छ।”

संविधानमा प्रदेशहरुको नामाकारणबारे प्रदेशसभा स्वयंले निर्णय गर्ने व्यवस्था उल्लेख छ।

प्रदेशहरुको नामाङ्कनलाई लिएर दलहरुबीच मतभेद उत्पन्न भएपछि त्यस्तो व्यवस्था नयाँ संविधानमा राखिएको हो।

तनाव

तस्वीर कपीराइट Brij Kumar Yadav

तनावग्रस्त बनेको जानकी मन्दिरको स्थिति सामान्य बनाउन ११ राउण्ड अश्रुग्यास प्रहार गरिएको धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशीले जनाए।

उनले आन्दोलनकारीको ढुङ्गा लागेर १२ जना प्रहरी घाइते भएको पनि बताए।

तर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता लालकिसोर साहले व्यापक जनविरोधको बीच जनकपुर आएर राष्ट्रपतिले विवाहपञ्चमी मेलालाइ बिथोलेको आरोप लगाए।

उनले भने, “जबरजस्ती गरेर राष्ट्रपति यहाँ आएर विवाह पञ्चमी जस्तो महत्वपूर्ण पर्व विथोलिएको छ, प्रहरी र सशस्त्र प्रहरीको अश्रुग्यास र लाठी लागेर ६० जना भन्दा बढी आन्दोलनकारी र सर्वसाधारण घाइते भएका छन्।"

बन्द हडतालको कारण यस पटक भारतको अयोध्याबाट जन्ती आएनन्।

बाजागाजाका साथ मनाइने विवाहमहोत्सवको पर्व बुधबार अबेर पुरा भएको थियो।