'बुरुण्डीमा ५ हजार शान्ति सेना पठाइने'

  • 18 डिसेम्बर 2015

अफ्रिकी संघले बुरुण्डी सरकारको सहमति बिना नै त्यहाँका नगरिकको सुरक्षका लागि पाँचहजार शान्ति सेनालाई पठाउने योजना घोषणा गरेको छ।

अफ्रिकी संघको आदिस अबाबास्थित शान्ति र सुरक्षा परिषद्ले स्वीकृत गरेको उक्त प्रस्ताव कार्यकन्वयनका लागि संयुक्त राष्ट्रसंघको समर्थन आवश्यक पर्छ।

बिहीबार अफ्रिकी संघले बुरुण्डीमा आम नरसंहार हुन नदिने भन्दै चेतावनी दिएको थियो।

आह्वान

राष्ट्रपति पिरी एनकुरीनजिजाले सत्तामा तेस्रोपटक पनि बस्ने दृढ आकंक्षा देखाएपछि सुरु भएको हिंसामा एप्रिल यता त्यहाँ कम्तीमा चार हजार मानिसको ज्यान गइसकेको छ।

मे महिनामा भएको कूबाट जोगिएका उनी जूलाईमा भएको विवादास्पद चुनावबाट तेश्रो पटक राष्ट्रपति चुनिएका थिए।

नैरबीमा रहेकी बीबीसीकी एन सोय भन्छिन्, अफ्रिकी संघले यसरी सरकारी सहमति विना नै फौज तैनाथका लागि आह्वान गरेको यो पहिलोपटक हो।

अफ्रिकी संघको घोषणापत्रको प्रावधान अनुसार युद्ध अपराध, आम नरसंहार र मानवता विरोधी अपराधजस्ता गम्भीर संकटका बेला आफ्ना सदस्य राष्ट्रमा हस्तक्षेप गर्न पाइन्छ।

संघको उक्त घोषणा हिंसा गृहयुद्धमा परिणत हुनसक्ने र सम्भावित जातीय द्धन्द्ध ल्याउन सक्ने चिन्ताका माझ आएको हो।

बुरुण्डीलाई गृहयुद्धबाट जोगाउन हालसालै राष्ट्रसंघ, युरोपेली संघ र इष्ट एफ्रिकन कम्यूनिटीको कुटनीतिक पहलले गति लिएको हो।