इस्लामिक स्टेटले कहाँबाट पैसा जुटाउँछ?

  • 18 डिसेम्बर 2015
तस्वीर कपीराइट AP
Image caption अबु बकार अल बग्दादी इस्लामिक स्टेटका नेता हुन्

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले इस्लामिक स्टेट समूहको आर्थिक स्रोत बन्द गर्ने लक्ष्यसहितको एउटा संकल्प प्रस्ताव अनुमोदन गरेको छ।

अमेरिकी अर्थ मन्त्री ज्याकव लिउको अध्यक्षतामा बिहीबार बसेको बैठकमा सुरक्षा परिषदका पाँचवटै स्थायी सदस्य राष्ट्र र दस अस्थायी राष्ट्रका अर्थमन्त्री सहभागी थिए।

इस्लामिक स्टेट विश्वकै धनी उग्रवादी समूह भएको ठानिदैँ आएको छ।

सो संगठनले संयुक्त अधिराज्य जतिकै भूगोल रहेका इराक र सिरियाका भूभागमा इस्लामी राज्य ‘क्यालिफेट’ बनाएर आफूले शासन गरिरहेको बताउँदै आएको छ।

तर आइएसको मुख्य आर्थिक श्रोत कुन हो र कसले उक्त संगठनलाई रकम उपलब्ध गराउँछ त?

१. चन्दा

धनी पश्चिमा दाताहरुले व्यक्तिगत रुपमा र मध्य पश्चिम मुख्य गरि साउदी अरेबीया र कतारमा रहेका इस्लामी परोपकारवादी संस्थाहरु प्रारम्भिक चरणमा आइएसको आम्दानीका मुख्य श्रोत रहेका थिए।

सुन्नी समुदायका समर्थक रहेका उनीहरुले इस्लामको अलाविट सम्प्रदायबाट आएका सिरियाका राष्ट्रपति असदलाई अपदस्थ गर्न चन्दा दिने गरेका थिए।

अझै पनि सिरिया र इराकसम्म विदेशी लडाकूहरुको यात्राका लागि ती श्रोतहरुबाट रकम आइरहेको बताइएको छ तर हाल उक्त समूहले आफैँ आर्थिक श्रोत जुटाउन थालेको छ।

२. तेल

तस्वीर कपीराइट Reuters

अमेरिकी अर्थमन्त्रालयका अनुसार आइएसले सन् २०१४ मा मात्रै दशौँ लाख मिलियन डलर वा झन्डै १० करोड डलर कच्चा तेल र अन्य रिफाइनेरी सामाग्री स्थानीय विचौलियाहरुलाई विक्रि गरेर कमाएको थियो।

त्यस्तो कालोबजार गरिएको तेललाई तस्करहरुले टर्की वा इरानसम्म पुर्याउने वा सिरियाली सरकारसम्मलाई बेच्ने गरेको बताइन्छ।

तर तेल उत्पादनसँग सम्बन्धीत पूर्वाधारमाथि हवाई आक्रमणहरु गर्न थालिएपछि उक्त आम्दानीको श्रोत घटेको ठानिएको छ।

३. अपहरण

अपहरणबाट सन् २०१४ मा कम्तीमा २ करोड डलर फिरौतीका रुपमा आइएसले उठाएको थियो।

उक्त संगठन छाडेका एकजनाले दिएको जानकारी अनुसार सो समूहमा मानिसहरु बन्धकमा लिने काम गर्न अलग्गै जासूसी संयन्त्र खडा गरिएको छ।

सिरीयाको सिमाना नजिकै रहेका शहरहरुमा पाइला टेक्ने बित्तिकै विदेशी पत्रकारहरुलाई उसले आफ्नो निशाना बनाउने गरेको छ।

आइएसले अपहरणलाई आफ्नो सबैभन्दा बलियो प्रचारको माध्यमसमेत बनाएको छ।

४. डकैती, लुटपाट र जबरजस्ती असुली

तस्वीर कपीराइट na

अमेरिकी अर्थ मन्त्रालयका अनुसार आइएसले आफ्नो पूर्ण र आशिंक नियन्त्रण भएका क्षेत्रहरुबाट प्रत्येक महिना दशौँ लाख डलर उठाउने गरेको छ।

आफ्नो नियन्त्रण भएका इलाकामा आवतजावत गर्ने, व्यवसाय गर्ने र बसोबास गर्ने मानिसहरुलाई सेवा उपलब्ध गराउने वा ‘सुरक्षा’ दिने नाममा उसले रकम संकलन गर्ने गर्छ।

बैंक लुटपाट, डकैती र बहूमुल्य समाग्रीको बेचबिखन एवं चोरी तथा खाद्यान्न र पशुको व्यापारमार्फत् समेत उसले नाफा कमाउने गरेको छ।

५. धार्मिक अल्पसंख्यकमाथि कर

धार्मिक अल्पसंख्यकहरुलाई आइएसले ‘जिजया’ भनिने विशेष कर तिर्न बाध्य बनाउने गरेको छ।

इराको मोसुल शहरमा रहेका मस्जिदमा आइएसको यस्तो घोषणा सम्बन्धी वक्त्वय अघिल्लो वर्ष वाचन गरिएको थियो।

त्यसमा इसाईहरुलाई उक्त शहर नछाडे धर्म परिवर्तन गर्न, कर तिर्न वा मर्न तयार हुन चेतावनी दिइएको थियो।

६. दासी

इस्लामिक स्टेटले बन्धक बनाइएका किशोरी तथा महिलाहरुलाई यौन दासीका रुपमा बिक्रि गरि पैसा आर्जन गर्ने गर्छ।

इराकको उत्तरमा रहेको सिन्जार शहरलाई नियन्त्रणमा लिएपछि उक्त समूहले हजारौँ महिला तथा जवान किशोरीहरुलाई बन्दी बनाएको र धेरैलाई यौन दासीका रुपमा प्रयोग गरेको यजिदि धार्मिक अल्पसंख्यकहरुले बताउँदै आएका छन्।

एकजना यजिदि महिला हन्नानले आफू आइएसको नियन्त्रणबाट भागेको बताएकी छन्।

उनले आफूसहित २ सय अन्य महिला र किशोरीलाई दासका रुपमा बिक्री गर्न लागिएको र त्यहाँ आएर आइएसका लडाकुहरुले रोजेर महिलाहरु किन्ने गरेको बीबीसीलाई बताइन्।