तातोपानी नाका कहिले खुल्ला?

  • 19 डिसेम्बर 2015

चीनतिरको खासा भन्दा केही तल अवस्थित सीमावर्ती लिपिङ बजार अहिले जति सुनसान सम्भवत कहिल्यै थिएन।

अरु बेला ट्रक र गाडीका हर्न अनि मान्छेका ओहोरदोहोरका चर्का आवाज सुनिने सीमामा रहेको मितेरी पुल र आसपास उभिँदा अचेल भोटेकोशी नदी सुसाएको मात्रै सुनिन्छ।

नेपाल चीन व्यापारको मुख्य केन्द्र मानिने उक्त नाका वैशाखमा गएको विनाशकारी भूकम्प यता सञ्चालनमा आउन सकेको छैन।

मितेरी पुलबाट चीनतिर हेर्दा त्यहाँ केही चिनियाँ सुरक्षाकर्मी त देखिन्छन् तर भन्सार तथा अध्यागमनका कार्यालय खालि नै रहेको भान हुन्छ।

चिन्ता

नाका नखुल्दा भूकम्पमा ज्यान बचाएर बिस्तारै गाउँ फर्कन थालेका मानिसहरु निराश बन्दै गएका छन्।

मिस्त्रीको काम गर्दै आएका पासाङ तामाङले सीमा नाका बन्द हुँदा आफू र सामान बोक्ने ट्रक चलाउने आफ्ना दुई छोराहरु बेरोजगार भएको बताए।

"यहाँको सीमाना नखुल्दा अहिले धेरै बेरोजगार भएर बसेका छौं। बाहिरका संस्थाहरुले दिएको राहत खाएर मात्रै हामी बसिरहेका छौं।"

सीमा नाका सञ्चालन नभएपछि चीनबाट सामान भित्र्याउने ठूला व्यापारी देखि स्थानिय स्तरमा व्यापार गरिरहेका साना व्यवसायी बेचैन बनिरहेका छन्।

दोलखाबाट तातोपानी आएर तीन वर्ष यता होटल चलाइरहेकी छिरिङ लामु शेर्पाले भनिन्, "नाका नखोलेपछि भाडा तिर्नै समस्या भइरहेको छ। गाउँ जाउँ भने पनि गाडी चलेको छैन अनि गाडी भाडा पनि निकै महंगो छ। यही बसौं भने वर्षामा कोही नबस्ने भन्छन्।"

भूकम्प गएलगत्तै पछि राजधानी गएकी उनी छोराछोरीको विद्यालय पुन सञ्चालनमा आउने भएपछि असोजमा गाउँ फर्किएकी हुन्।

तर भूकम्पले अधिकांश घरहरु नराम्ररी भत्काएकाले धेरैजना अझै गाउँ फर्कनसकेका छैनन्।

सुनसान

मुल बजारकै कैयौँ घरहरुमा ताल्चा झुन्डिएको देखिन्छ।

विक्रम सम्वत् २०२० को दशकमा अरनिको राजमार्ग सञ्चालन आए यता रुपरङ्ग फेरेको तातोपानी बजारका धेरैजनाले राजधानीमासमेत सम्पत्ती जोडेको चर्चा गरिन्छ।

चीनबाट हुने व्यापार एवं पर्यटन यहाँका मानिसहरुको आम्दानीको मुख्य श्रोत रहँदै आएको छ।

तर भूकम्प यता चीनबाट सामान बोकेर आउनपर्ने झन्डै ३ सय कन्टेनर उतै रोकिएका छन्।

जसका कारण नेपालतिरको भूभागमा पनि सवारी साधनको चहलपहल एकदमै न्यून छ।

भूकम्पका कारण सिन्धुपाल्चोकको लार्चामा चीनको सहयोगमा निर्माणाधीन सुख्खा बन्दरगाहको भविष्य समेत अन्यौलमा परेको छ।

झन्डै ८५ प्रतिशत निर्माण सकिएको उक्त सुख्खा बन्दरगाह अवस्थित जमीनको भौगर्भिक अध्ययनपछि मात्र पुनर्निर्माण सुरु गर्न सकिने चिनियाँ पक्षले बताएको अधिकारीहरु बताउँछन्।

तर भूकम्पका कारण विग्रेको ततोपानी र आसपासको सडकमा गएको असोजमा नै सवारी गुड्न मिल्ने गरि मर्मत गरिसकिएकाले दुई देशबीचको व्यापार चालू गर्न कुनै समस्या नरहेको उनीहरुको भनाई छ।

पहल

तातोपानीमा भूकम्पपछि विस्थापित भएको भन्सार कार्यालय एवं सुरक्षा जाँच चौकीसमेत पुन सञ्चालनमा आएका छन्।

तर चीनबाट सवारी साधन र मानिसहरुको आवतजावत नहुँदा दैनिक झन्डै दुई करोड रुपिँया राजश्व सकंलन गर्ने गरेको ततोपानी नाकाको आम्दानी अचेल लगभग शून्य रहेको प्रमुख भन्सार अधिकृत दिव्यराज पोख्रेलले बताए।

आफूहरुले चिनियाँ पक्षसँग गरेका वार्ताले कुनै परिणाम नदिएको भन्दै उनले भने, "चिनियाँलाई विश्वास दिलाउनको लागि नीतिगत रुपमै अथवा राजनीतिक तहबाट पहल गर्नुपर्छ भन्ने लाग्छ।"

वैशाखको विनाशकारी भूकम्प लगत्तै चीनले खासा तर्फको मानववस्ती अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरेको स्थानिय नेपाली अधिकारीहरु बताउँछन्।

चीनतर्फको सीमावर्ती सडक खण्डको आफूले अवलोकन गरेको भन्दै उनीहरुले सिलबन्दी गरिएका कन्टेनरबाट सामान ल्याउन कुनै जटिलता नरहेको अघिल्लो हप्ता तातोपानीको स्थलगत अध्ययन गरेको संसदको विकास समितिलाई जानकारी गराए।

प्रतिवद्धता

विकास समितिका सभापति रवीन्द्र अधिकारीले दुई देशबीच समझदारी भए १० दिनमा नै नाका पूर्ववत सञ्चालनमा ल्याउन सकिने बताए।

"हामीले सबै अवस्था हेर्दा ८/१० दिनमा सञ्चालनमा आउनसक्छ। त्यसको लागि दुई देशबीचको समझदारी अघि बढ्नुपर्यो। यहाँका काम अगाडि बढाउन हाम्रो समिति लाग्नेछ।"

उक्त नाका चालू हुन भइरहेको ढिलाईबारे परराष्ट्र मन्त्रालय वा चिनियाँ पक्षले हालसम्म औपचारिक रुपमा केही नबताए पनि कतिपय स्थानिय प्रशासकहरुले खासाबाट हुने गरेका तिब्बती शरणार्थीका गतिविधिसमेत त्यसका लागि जिम्मेवार हुनसक्ने धारणा राख्ने गरेका छन्।

त्यसैका कारण चीनले खासा भन्दा केरुंग नाका सञ्चालनलाई बढी जोड दिन चाहेको हुनसक्ने उनीहरुको विश्लेषण पाइन्छ।

तर केरुंगभन्दा झन्डै ६० किलोमिटर नजिक एवं दुई लेनको सडक सञ्जालसहित सबै पूर्वाधार तयार रहेको तातोपानी नाकालाई नै बढी प्राथमिकता दिनुपर्ने यहाँका मानिसहरुको जोड छ।