दिल्ली बलात्कार काण्डका दोषी हिरासतमुक्त

  • 20 डिसेम्बर 2015
delhi rape तस्वीर कपीराइट AFP
Image caption बलात्कारमा संलग्नलाई उमेरको कारण देखाउंदै नछाड्न व्यापक अभियान गरिएका थिए

तीन वर्षअघि भारतको दिल्लीमा एक छात्रामाथि भएको बलात्कारको घटनामा संलग्नमध्येका एक आक्रमणकारीलाई हिरासतमुक्त गरिएपछि दिल्लीमा व्यापक विरोध भएको छ।

दिल्लीको केन्द्र इण्डियागेटमा पीडितका आफन्त, अभियन्ताहरु र सर्वसाधारणले विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनमा उत्रिएका पीडितका मातापिता र उनीहरुलाई साथ दिन पुगेका करिब २ सयजना मानिसलाई प्रहरीले केहीबेरमा हटाएको थियो।

तनाव

इण्डिया गेट क्षेत्रमा प्रदर्शन गर्न नपाइने कानूनी धारा लागू रहेकाले पछिल्लो विरोध प्रदर्शन गर्न नदिइएको प्रहरीले जनाएको छ।

त्यसक्रममा प्रदर्शनकारीहरुले दिल्ली सरकार र मुख्यमन्त्री अरविन्द केजरीवालविरुद्ध चर्को नाराबाजी गरेका थिए।

तस्वीर कपीराइट Getty
Image caption नाबालिगभन्दै छाडिएका दोषी युवकलाई सुरक्षाको कारण देखाउंदै एउटा परोपकारी संस्थालाई बुझाइएको छ

त्यहां उपस्थित बीबीसी हिन्दीका संवाददाता विनीत खरेले प्रदर्शनकारी हटाउने क्रममा परिस्थिति तनावग्रस्त बनेको बताएका छन्।

सजाय

आइतबार हिरासतबाट छुटेका सबैभन्दा कान्छा आक्रमणकारी उक्त घटना हुंदा १७ वर्षका थिए।

नाबालिगहरुसंग सम्बन्धित कानूनअन्तर्गत मुद्दा चलाइएको उनलाई अधिकतम तीन वर्षसम्मको सजाय सुनाइएको थियो।

ती आक्रमणकारीको सुरक्षालाई लिएर चिन्ताहरु व्यक्त भएकाले उनलाई एउटा परोपकारी संस्थालाई हस्तान्तरण गरिएको बताइएको छ।

तर उनको रिहाइविरुद्धको अन्तिम निवेदनमाथि सोमबार सर्वोच्च अदालतले सुनुवाइ गर्दैछ।

अन्य चारजना आक्रमणकारी भने हाल कारागारमा छन् र मृत्युदण्डको सजायविरुद्धको उनीहरुको अपील अहिले विचाराधीन छ।