मध्य तराईका ठाउँ-ठाउँमा तनाव, एकको मृत्यु

  • 20 डिसेम्बर 2015
Image caption संविधानप्रतिको असन्तुष्टीलाई लिएर देशका विभिन्न भागमा भएका आन्दोलनमा ५० जना भन्दा बढीको मृत्यू भइसकेको छ।

मध्य तराईमा मधेसी मोर्चाले प्रदर्शन जारी राखे पनि पछिल्ला केही दिन यता त्यहाँ हिंसात्मक घटनामा कमि आएको थियो।

पछिल्ला दिनहरुमा सहमतिको आशा जागेकै बेला ती क्षेत्रका कतिपय ठाउँहरु पुन: तनावपूर्ण बनेका छन्।

रौतहट जिल्लाको गौरमा प्रहरीको गोली लागेर १८ वर्षीय प्रदर्शनकारी शेष तरबेज आलम मारिएको प्रहरीले जनाएको छ।

बाध्य

प्रदर्शनकारीहरुले सुरक्षामा खटिएका प्रहरीमाथि ढुंगामुढा प्रहार र आक्रमण गर्न थालेपछि अश्रुग्यास प्रहार गरेको तर स्थिति नियन्त्रणमा नआएपछि गोलीसमेत चलाउनु परेको रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरी बरालले बताए।

उनले भने, “प्रहरीले घुँडा मुनी लाग्ने गरी गोली चलाएको तर निहुरिएर ढुंगा टिप्दै गरेका एकजना प्रदर्शनकारीको कम्मरमा गोली लागेको तथा उपचारका क्रममा उनको मृत्यु भएको छ।”

प्रहरीका अनुसार झडपका क्रममा दुबैतर्फ ३६ जना घाइते भएका छन्।

तर मोर्चाले उक्त भनाई अस्वीकार गर्दै शान्तिपूर्ण प्रदर्शनमा गोली चलाएको बताएको छ।

सद्भावना पार्टीका केन्द्रिय सदस्य योगेन्द्र रायले भने, “मोर्चाले आफ्नो पूर्वनिर्धारित कार्यक्रम अनुसार शान्तिपूर्ण हिसाबले प्रदर्शन गरिरहँदा प्रहरी प्रशासनले एक्कासी त्यसलाई अवरोध गरि अश्रुग्यास र गोलिसमेत प्रहार गर्दा एकजनाको मृत्यू भएको छ।”

आक्रमण

अर्को जिल्ला सर्लाहीमा प्रहरीले मोर्चाका नेतासहित १० जनालाई नियन्त्रणमा लिएर साँझ रिहा गरेको छ।

मोर्चाले आइतबार सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयकको प्रतिहरु तराईका विभिन्न जिल्ला सदरमुकामहरुमा जलाएको छ।

पछिल्ला दिनहरुमा प्रदर्शनहरुमा कमी आएका बेला खुल्न थालेका स्थानीय बजारहरु फेरी बन्द भएका छन्।

तराईमा जारी आन्दोलनमा गम्भीर नजर लगाइ बसेको भारतले सहमतिको निम्ति प्रोत्साहित गरेको खबरका माझ सरकार संविधान संसोधनका निम्ति अग्रसर भएको थियो।

त्यसप्रति असन्तुष्टि जनाउँदै मोर्चाले आन्दोलन चर्काउने निर्णय गरेसँगै पछिल्लो तनाव देखा परेको हो।