अख्तियारमा वन्तले बुझाए १० करोड धरौटी

  • 21 डिसेम्बर 2015

भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरीका प्रमुख कोषराज वन्तमाथि छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसंग १० करोड रुपैयां धरौटी माग गरेको थियो।

धरौटी वापत १० करोड रुपैयां बराबरको बैंक जमानत दाखिला गरेकाले उनलाई तारेखमा छाडी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

सोमबार बयानका लागि पुगेका वन्तले तोकिएको धरौटी नबुझाएको भए अख्तियारको हिरासतमा बस्नुपर्ने थियो।

अभियोग

ढुवानी गर्दै नगरिएका सामानहरुको नक्कली बिल बनाइ करीब सात करोड रुपैयां बराबरको आर्थिक अनियमितता गरेको भन्दै अख्तियारले उनीमाथि अनुसन्धान गरिरहेको छ।

त्यसमा वन्तको प्रत्यक्ष संलग्नता रहेको भन्दै अख्तियारले पदमा रहंदा छानबिनमा प्रभाव पर्न सक्ने भन्दै निलम्बनका लागि सरकारलाई अघिल्लो साता सिफारिस गरेको थियो।

त्यसलगत्तै मन्त्रिपरिषद्ले तीन महिनाका लागि वन्तलाई निलम्बन गरेको थियो।

केही समयको बयानपछि अनुसन्धानमा खटिएका अधिकृतहरुले थप अनुसन्धान आवश्यक रहेको भन्दै हिरासतमै बस्नुपर्ने वा १० करोड धरौटी रकम बुझाउनु पर्ने बताएका थिए।

हिरासत

हिरासतमा नबस्ने भन्दै वन्तले धरौटी रकम बुझाएको आयोगका प्रवक्ता कृष्णहरि पुष्करले बताए।

अहिलेसम्मको अनसुन्धानका क्रममा सात करोड बराबरको रकम हिनामिना भएको देखिएको र थप अनुसन्धान गर्दै जाँदा उक्त रकम बढ्नसक्ने सम्भावनाका कारण १० करोड धरौटी लिइएको आयोगको भनाइ छ।

उक्त हिनामिनामा जोडिएर निलम्बनमा परेका दुईजना सशस्त्र प्रहरी नायब उपरीक्षक र निरीक्षकसँग पनि क्रमश: बयान लिइने आयोगले जनाएको छ।

हाल अनुसन्धानकै क्रममा रहेको यो विषय विशेष अदालतसम्म मुद्दाकै रुपमा कहिले सम्म पुग्छ भन्ने निश्चित भइनसकेको बताइएको छ।