राष्ट्रिय गौरवका आयोजनामा ढिलाइ

  • 23 डिसेम्बर 2015
tamakoshi
Image caption तामाकोशीमा निर्माणाधीन जलविद्युत आयोजना जस्ता राष्ट्रिय गौरवका आयोजना पछाडि धकेलिंदा ठूलो खर्च बढ्नेछ

इन्धन र निर्माण सामग्रीको अभावका कारण राष्ट्रिय गौरवका २१ वटा आयोजनाहरुमध्ये कैयौंको काम पुरा गर्ने लक्ष्य पछाडि धकेलिएको सरकारी अधिकारीहरुले जनाएका छन्।

वैशाखको भूकम्पले प्रभावित भएका त्यस्ता आयोजनाको काममा भारतसँगको सीमा नाकामा उत्पन्न अवरोधले थप ढिलाइ हुने भएको हो।

नाकामा जारी अवरोध लम्बिएमा ती आयोजनाको खर्च पनि बढ्ने देखिन्छ।

दोहोरो मार

कैयौं वर्षदेखि व्यहोर्नु परेको विद्युत कटौती निकै घटाउन योगदान दिने ठानिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजना काम प्रभावित भएका राष्ट्रिय गौरवका आयोजनाहरु मध्येको एउटा हो।

उच्च महत्वका साथ हेरिएको र तीव्र रुपमा काम अघि बढिरहेको उक्त आयोजनामा पहिले भूकम्पले क्षति पुर्यायो, त्यसपछि सीमा नाका अवरोधले निम्त्याएको अभावको मार परेको छ।

काम रोकिँदा बजेट खर्च हुन सकेको छैन।

त्यसले पारेको प्रभावबारे अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख बैकुण्ठ अर्यालले भने, “इन्धन र निर्माण सामाग्रीको अभाव र ढुवानीको समस्या भएकाले आयोजनाहरुको काम पछाडि धकेलिएको छ।”

सिन्धुपाल्चोकको पानी २७ किलोमिटर लामो सुरुङ्बाट ढिलोमा आउँदो असोज महिनासम्म काठमाण्डूको सुन्दरीजलमा झार्ने बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पछिल्लो लक्ष्य थियो।

अहिलेसम्म १४ किलोमिटर बनेकोमा थप ६ किलोमिटर सुरुङ् यो आर्थिक वर्ष मध्यसम्म बनाइसक्ने लक्ष्य थियो।

तर मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले भने,“अहिलेसम्म २० किलोमिटरभन्दा बढी बनाइसक्नु पर्ने थियो, भूकम्पछि ७ सय मिटर मात्र बनाउन सक्यौं, अहिले त काम नै ठप्प छ।”

खर्च

ठूलै चर्चा गरिएको पूर्व पाँचथरदेखि पश्चिम बैतडीसम्म जोड्ने मध्यपहाडी लोकमार्ग १ हजार ७ सय ७६ किलोमिटर लामो छ।

त्यस अन्तर्गत करिब साढे ७ सय किलोमिटर पुरानै कालोपत्रे छ।

थप्नु पर्ने करिब एक हजार किलोमिटरमा गत वर्षसम्ममा एक सय किलोमिटर मात्र कालोपत्रे बनाइएको थियो।

आउँदो पांच वर्षमा सबै कालोपत्रे गरिसक्ने सडक विभागको लक्ष्य छ तर यस वर्षकै लक्ष्य धरमरमा परेको विभागको भनाइ छ।

लक्ष्य

विभागका प्रवक्ता तथा वरिष्ठ डिभिजनल इन्जिनियर लक्ष्मीदत्त भट्टले भने, “यो वर्ष लक्ष्य राखिएको ६० मध्ये १२ किलोमिटर सडक कालोपत्रे गरिएको छ भने १५ वटा मध्ये एउटा पुल बनाइएको छ, अब कामलाई तीव्रता दिने मौसम भएकाले अवरोध लम्बिएर लक्ष्य पुरा हुन गाह्रो छ।”

बुढी गण्डकी र पश्चिम सेती जलविद्युत जस्ता जग्गा अधिग्रहण गर्नुपर्ने र विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) को चरणमै रहेका आयोजना उति साह्रो प्रभावित नभए पनि अन्य आयोजना धेर-थोर प्रभावित भएकै छन्।

अधिकारीहरुका अनुसार यसरी राष्ट्रिय गौरवका आयोजनाको निर्माण लक्ष्य पछि धकेलिँदा आयोजनाको लागत खर्च अर्बौं रुपैयाँले बढ्नेछ।

र, त्यो आर्थिक बोझ हरेक नेपालीको काँधमै थपिने छ।