संगीन नियन्त्रणका लागि लडाईं जारी

  • 24 डिसेम्बर 2015
तस्वीर कपीराइट .

अफगान सरकारी सेनाले तालेवान उग्रवादीहरुको कब्जाबाट दक्षिणी प्रान्त हेल्मण्डको संगीन क्षेत्रलाई पुन: आफ्नो नियन्त्रणमा लिन चर्को लडाईं गरिरहेका छन्।

तिनीहरुको समर्थनमा अमेरिकी लडाकु विमानहरुले दुइ पटक हवाइ हमला गरिसकेका छन्।

हेलमण्डका गभर्नर मिर्जा खान रहीमीले अफगान सेनाले उक्त क्षेत्र पुन: आफ्नो कब्जामा लिएको दावी गरेका छन् भने अन्य विवरणहरुमा त्यहां लडाईं जारी रहेको बताइएको छ।

सागीनमा जारी रातभरको लडाईंमा एकजना स्थानीय तालेवान कमाण्डर सहित पचास जना मारिएका अफगान आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।

प्रयास

अफगान सरकारी सैन्यले हेलमाण्ड प्रान्तको सो क्षेत्र तालेवानहरुबाट पुन: आफ्नो कब्जामा ल्याउने प्रयास गरिरहेका छन्।

तस्वीर कपीराइट AP

अफगान अधिकारीहरुका अनुसार तिनीहरुले प्रत्याक्रमण गरेर स्थानीय सरकारी भवनहरु आफ्नो नियन्त्रणमा ल्याएका छन्।

तिनीहरुलाई अमेरिकी हवाइ हमलाको पनि समर्थन प्राप्त थियो।

रणनीतिक दृष्टिले महत्वपूर्ण र अफीम कारोबारको केन्द्रमा रहेको सागीन क्षेत्र कब्जा गर्न सकेमा त्यो तालेवानका लागि उल्लेख्य उपलब्धि हुनेछ।

दावी

तस्वीर कपीराइट AFP

गत हप्तादेखि नै उक्त शहर वरपर भिडन्त चर्केको थियो र बुधबार सम्पूर्ण सागीन क्षेत्र नै आफूहरुले कब्जा गरेको विद्रोहीहरुले दावी गरेका थिए।

उग्रवादीहरुको त्यस्तो दावीलाई खण्डन गर्दै अफगान रक्षा मन्त्रालयले त्यस क्षेत्रमा लडाईं जारी रहेको र थप सैन्य समर्थन पनि त्यसतर्फ पठाइएको बताएको थियो।

अफगान सरकारले आफूले उपलब्धि हासिल गरिरहेको बताउने गरेपनि हेलमण्डको ठूलो क्षेत्र तालेवान नियन्त्रणमा छ।

सागीनमा लडाईं चर्कैदै जांदा स्थानीय वासिन्दा आआफ्नो घरछाडी भागेर अन्यत्र गएका छन्।