‘पुनर्निर्माणको लागि युवा जनशक्ति अभाव’

  • 24 डिसेम्बर 2015
पालको बास तस्वीर कपीराइट a
Image caption पुनर्निर्माणको कामले गति नलिदा भूकम्प पीडितहरु चिसोमा बस्न बाध्य छन्

भूकम्पका कारण भत्किएका घरहरुको पुनर्निर्माणकानिम्ति दक्ष जनशक्ति उत्पादन गर्ने जिम्मा पाएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदले तालिम गराउन बजेटसँगै तालिम दिन आवश्यक युवाकै अभाव देखिएको जनाएको छ।

सरकारले पुनर्निर्माणको काम गुणस्तरीय बनाउने र छिट्टै थाल्ने उदेश्यले परिषदलाई उक्त जिम्मेवारी दिएको थियो।

तर ५० हजार दक्ष जनशक्ति आवश्यक पर्ने बताइएपनि हालसम्म ४ हजार ५ सयजनाले मात्र तालिम लिइरहेका छन्।

सरकारले भूकम्पले भत्काएका घर सरकारी सहयोग लिएर बनाउँदा तालिम प्राप्त कालिगढ प्रयोग गर्नु पर्ने बाध्यात्मक व्यवस्था गरेको छ।

चुनौतिहरु

तर प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको गुनासो छ, त्यस्ता जनशक्ति उत्पादन गर्ने कामका लागि सरकारकातर्फबाट आवश्यक बजेट नै उसले पाएको छैन।

मागेकोभन्दा अति न्युन बजेट पाएको बताउँछन्, परिषदका प्रमुख कार्यकारी अधिकृत रामहरी लामिछाने।

उनले भने, "हामीले २० करोड मागेका थियौं, अहिले ४ हजार ५ सय जनाको लागि मात्रै बजेट आएको छ, उनीहरुको निम्ति पनि पुग्दो बजेट छैन।"

सरकारको निर्देशनपछि परिषदले डकर्मी, सिकर्मी, प्लम्बर र इलेक्ट्रिसियनको तालीम दिने योजना बनाएको छ।

पहिले केही ईन्जिनियरहरुलाई प्रशिक्षक बनाएको परिषदले अहिले ग्रामिण क्षेत्रमा परम्परागत रुपमा काम गर्दै आएका डकर्मीलाई उनीहरु मार्फत ७ दिने भूकम्प प्रतिरोधी तालिम दिइरहेको छ।

त्यस्तै गाउँ-गाँउमा १८ वर्षदेखि ४५ वर्षसम्मको उमेर समूहकालाई ३ महिने तालिम दिने काम पनि शुरु भएको बताइएको छ।

‘विदेशतिर’

तर कार्यकारी अधिकृत लामिछानेका अनुसार त्यस्तो तालिम लिने युवा गाउँघरमा फेला पार्नै गाह्रो छ।

उनले भने, "गाउँमा तालिमका लिने युवा नै छैनन, कामै गर्न नसक्ने बुढापाकालाई तालिम दिएर भएन।”

“भूकम्पपछि झन् धेरै वैदेशिक रोजगारीमा गएकाले गाँउ-गाँउमा तालिम संचालन गर्न झन् कठिन भएको हो।"

रोजगारीका लागि विदेशिएका युवालाई नेपाल फर्काउनु र उनीहरुलाई सीप सिकाएर यहि काम गर्ने वातावरण बनाउन सरकारले ठोस योजना ल्याउनु पर्ने उनको भनाई छ।

तर त्यस्तो योजना ल्याउने जिम्मेवार निकायको रुपमा गठन गर्ने भनिएको पूनर्निर्माण प्राधिकरण भूकम्प गएको ८ महिना वितिसक्दा पनि बन्न सकेको छैन।