संशोधन विधेयक छलफलबारे अन्यौल बढ्यो

  • 26 डिसेम्बर 2015
तस्वीर कपीराइट subha narayan yadav
Image caption यसअघि मधेशी मोर्चाको माग सम्बोधन गर्ने भन्दै पाँचदिन संसद स्थगित गरिएको थियो

आन्दोलनरत मधेशी मोर्चाको माग सम्बोधन गर्न शनिबार साँझ अबेरसम्म बसेको तीन पक्षबीचको बैठकमा ठोस निष्कर्ष ननिस्किएपछि संसदमा आइतबारदेखि अघि बढाइने कार्यतालिमा रहेको संविधान संशोधनसम्बन्धी विधेयकबारेको अन्यौल बढेको छ।

समानुपातिक, समावेशी र निर्वाचन क्षेत्र निर्धारणबारेको संशोधन विधेयकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग शनिबार सत्तारुढ एकीकृत नेकपा माओवादी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छलफल गरेका थिए।

तर बैठक कुनै टुँगोमा पुग्न सकेन।

शनिबार बिहान तीनै प्रमुख दल एमाले, माओवादी र कांग्रेसले संयुक्त छलफल गरेर संसद शुरु हुनु अघि नै मोर्चासंग बैठक गरी विधेयकबारे निर्णय गरिने नेताहरुले जनाएका छन्।

पर्खाइ

चार महिना भन्दा लामो समयदेखि आन्दोलनरत मधेशी मोर्चाको सीमांकनलगायतका मागमा साझा धारणा बनाउने उद्देश्यले शनिबार दिउँसैदेखि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मोर्चाका नेताहरु बैठकमा बसेका थिए।

उक्त बैठकमा साँझ सत्तारुढ दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी भएका थिए।

तीन दलबीच करीब तीन घन्टा भएको उक्त छलफलले कुनै निष्कर्ष ननिकालेकाले आइतबार संसद बस्नुअघि संशोधन विधेयक अघि बढाउने/नबढाउनेबारे निर्णय लिइने कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले बताए।

उनले भने, "आइतबार बिहान नेताहरु बसेर छलफल गर्नुहुन्छ। त्यसपछि संशोधन प्रस्तावबारे पनि के गर्नेभन्नेबारे टुंगो लाग्छ।"

शनिबारको छलफलमा मोर्चाले सीमांकनको विषय अहिले नै टुंग्याउनुपर्ने, समानुपातिक समावेशीमा कतिवटा समूह राख्ने, निर्वाचन क्षेत्र निर्धारणलगायतका आफ्ना पूर्ववत असन्तुष्टिका विषयहरुबारे पुन: कांग्रेस र एमाओवादीलाई अवगत गराएका थिए।

सीमांकन तीन महिनामा टुंगो लगाइने र संशोधन विधेयकमा केही भाषा मिलाउने भन्ने प्रस्तावसहित बैठक बसेको सहभागी नेताहरुले बताएका थिए।

अडान

प्रमुख सत्ताधारी दल एमाले अनुपस्थित उक्त बैठकले अब आफ्ना मागबारे छलफल गरेपछि मात्रै आइतबारको संसद स्थगित गर्ने वा नगर्ने टुंगो लाग्ने सद्भभावना पार्टीका महासचिव मनिष सुमनले बताए।

उनले भने, "कांग्रेस, एमाले र एमाओवादीका नेताहरु बिहान बसेर एउटा समूह बनाउने योजना बनाउनुभएको छ, जुन टिमले हाम्रो ११ बुँदे मागप्रति एउटा जवाफ लेखन गर्छ। उक्त बैठकले नै दुईवटा संशोधन विधेयकबारे, स्थगित गर्नेबारे पनि निर्णय गर्नेछ।"

यदि आइतबार संसद बैठक अघि आफ्नो माग अनुसार दलहरुले निर्णय नगरे संसद अवरोध गर्ने मोर्चाका नेताहरुले बताएका छन्।

असन्तुष्ट मधेशी मोर्चाको अवरोधका माझ प्रस्तुत भएको संविधानको पहिलो संशोधन विधेयकमाथि आइतबारबाट सैद्धान्तिक छलफल शुरु हुने कार्यसूची तय गरिएको संसद सचिवालयले जनाएको छ।