यार्मुकबाट विद्रोही सार्ने योजना रोकियो

  • 26 डिसेम्बर 2015
तस्वीर कपीराइट Getty

सिरियाबाट प्राप्त समाचारहरु अनुसार दमास्कसबाट दक्षिणतर्फ रहेको यार्मुक शरणार्थी शिविर र त्यस आसपासबाट हजारौं विद्रोहीहरुलाई सार्ने योजना रोकिएको छ।

सुरक्षा मुद्दा र विद्रोहीका प्रमुख नेताको हत्यालाई ढिलाइको निम्ति जिम्मेवार मानिएको छ।

सरकार र विद्रोहीहरुबीच भएको सहमति अन्तर्गत लडाकु र उनीहरुका परिवारलाई बसबाट उनीहरुसँग सम्बन्धित समूहको नियन्त्रणमा रहेका क्षेत्रमा पठाउने योजना थियो।

सिरियाली सरकारले सन् २०१२ देखि गरेको घेराबन्दी र लडाईका कारण करिव १८ हजार सर्वसाधारण यार्मुकमा चेपुवामा परेका छन्।

वाध्य

यो वर्षको शुरुमा इस्लामिक स्टेट (आईएस) समूहका लडाकुहरुले शरणार्थी शिविरका भागहरु कब्जा गरेका थिए।

हप्तौसम्म चलेको भीषण लडाईंपछि प्यालिष्टिनी मिलिसिया र सिरियाली विद्रोहीले उनीहरुलाई पछि हट्न वाध्य बनाएका थिए।

त्यसयता यार्मुक आईएस, अलकायदा सम्बद्ध अल नुस्रा फ्रन्ट तथा सरकार समर्थक र विरोधी प्यालिष्टीनी मिलिसियाहरुद्वारा नियन्त्रित भागहरुमा विभाजित भएको छ।

सरकारी फौजले सर्वसाधारणलाई त्यहाँबाट बाहिरिन नदिन त्यस आसपासको क्षेत्रमा जाँच चौकीहरु स्थापना गरेको छ।

नियन्त्रण

पछिल्लो सहमतिमा लडाकुहरुलाई यार्मुक र छिमेकी हजर अल असद र अल कमदबाट अन्यत्रै लगिने भनिएको थियो।

एउटा लेबननी टेलिभिजन च्यानलले मानिसहरुलाई एकठाउँबाट अर्को ठाउँमा सार्ने विषय रोकिनुको कारण विद्रोही समूहको नियन्त्रणमा रहेको क्षेत्रबाट रक्षक दल जान नसक्नु रहेको बताएको छ।

एउटा विद्रोही समूहका नेता शुक्रबार भएको हवाइ हमलामा मारिएका थिए।