सशस्त्रका तीन पूर्व प्रमुख धरौटीमा छुटे

  • 27 डिसेम्बर 2015
तस्वीर कपीराइट sharad adhikari
Image caption सशस्त्रका निलम्बित प्रमुखको बयानपछि तीन पूर्व प्रमुख अख्तियारमा तानिएका हुन्

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीमा भ्रष्टाचार भनिएको एउटा चर्चित प्रकरणमा सशस्त्र प्रहरीका तीनजना पूर्वप्रमुखसँग बयान लिएको छ।

अख्तियारद्वारा आफ्नो कार्यकालमा सशस्त्र प्रहरीको सामान ढुवानीमा नक्कली बिल बनाइ भ्रष्टाचार गरेको आरोप लगाइएका उनीहरु तीनैजना धरौटीमा छुटेका छन्।

पूर्व प्रहरी महानिरीक्षकहरु बासुदेव ओली, शैलेन्द्रकुमार श्रेष्ठ र सनतकुमार बस्नेतलाई उनीहरुले आफ्नो कार्यकालमा सशस्त्र प्रहरीको सामान ढुवानीमा नक्कली बिल बनाइ भ्रष्टाचार गरेको अख्तियारको अभियोग छ।

यसअघि अख्तियारले त्यस्तै अभियोगमा सशस्त्र प्रहरीका महानिरीक्षण कोषराज वन्तलाई १० करोड रुपैँया धरौटी लिएर छोडेको थियो। उनी अहिले निलम्बनमा छन्।

धरौटी

सशस्त्र प्रहरी वलका लागि आवश्यक पर्ने सामग्रीहरुको ढुवानीमा भ्रष्टाचार गरेको भन्ने उजुरी माथिको प्रारम्भिक अनुसन्धानपछि तत्कालिन प्रमुख कोषराज वन्तमाथि छानविन शुरु गरेको केही दिन वित्न नपांउदै ३ जना पूर्व प्रमुखहरुलाई अख्तियारले त्यस्तै प्रकृतिको अभियोगमा बयानका निम्ति आइतबार बोलाएको थियो।

धरौटी रकम बुझाउन नसके अख्तियारकै हिरासतमा बस्नुपर्ने कानुनी प्रावधान रहेकोमा उनीहरु साँझ अबेर धरौटी बुझाएर छुटेको अख्तियारका प्रवक्ता कृष्णहरी पुष्करले बताए।

उनले भने," अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को धारा १९(४) बमोजिम पुर्व प्रहरी महानिरीक्षकहरु बासुदेव ओलीको हकमा ७० लाख, शैलेन्द्रकुमार श्रेष्ठको हकमा १ करोड र सनतकुमार बस्नेतको हकमा ८ करोड रुपैंया धरौटी जमानत माग गरेकोमा उनीहरुले उक्त रकम बराबरको बैंक जमानत गर्न ल्याएकोले जमानत लिइ तारेखमा राखि थप अनुसन्धान कारबाही अगाडि बढिरहेको छ।"

अख्तियारमा उनीहरुविरुद्ध परेका उजुरीहरुको छानविनका क्रममा हालसम्मको अनुसन्धानमा उनीहरुले ८ करोड रुपैँया भन्दा बढी रकम हिनामिना गरेको पाइएको अख्तियारको दावी छ।

अनुसन्धान

अख्तियारको अनुसार ढुवानी नै नभएका सामानको नक्कली बिल बनाएर गरिएको भनिएको भ्रष्टाचारमा उनीहरु प्रत्यक्ष संलग्न रहेको अहिलेसम्मको अनुसन्धानले देखाएको छ।

यस्तै अभियोगमा हालै १० करोड रुपैंयाँ धरौटी राखेर रिहा भएका निलम्वित सशस्त्र प्रहरी प्रमुख कोषराज वन्तमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता पुष्करले बताए।

उनले भने,"उहांको हकमा भने अनुसन्धान कारवाही अगाडि वढिरहेको छ। अनुसन्धान अधिकृतको टोलीले थप गृहकार्य गर्ने, अनुसन्धान प्रमाण संकलन गर्ने र अनुसन्धानलाई कानुनसम्मत ढंगले परिपक्व बनाउने काम गरिरहेको छ। "

यी दुबै अभियोगको अनुसन्धानपछि अख्तियारले आवश्यक प्रमाण सहित विशेष अदालतमा मुद्दा दर्ता गर्नु पर्नेछ। त्यसका निम्ति अझै केही समय लाग्ने अख्तियारको भनाई छ।