जापान कोरियाबीच सम्बन्धको नयाँ युग: आबे

  • 28 डिसेम्बर 2015
तस्वीर कपीराइट Getty Images
Image caption दोस्रो विश्वयुद्धको बेलामा करिब २ लाख महिलाहरुलाई जापानी सैनिकहरुको यौनदासी बन्न बाध्य गराइएको अनुमान छ

दोस्रो विश्वयुद्धको समयमा यौनदासी बनाइएका कोरियाली महिलाहरुबारे ऐतिहासिक सम्झौता भएपछि जापानका प्रधानमन्त्री शिन्जो आबेले दक्षिण कोरियासंगको सम्बन्धमा नयाँ युगको शुरुवातलाई स्वागत गरेका छन्।

सैन्य वेश्यालयमा काम गर्न वाध्य पारिएका महिलाहरुप्रतिको व्यवहारका लागि जापानले माफी मागेको छ।

जापानले क्षतिपूर्तिका लागि ९० लाख डलर रकमको कोष स्थापना गरिने पनि जनाएको छ।

दक्षिण कोरियाका विदेशमन्त्री युन ब्युङ सेले सो सहमतिलाई निर्णायक र अपरिवर्तनीय भनेका छन्।

समझदारी

दोस्रो विश्वयुद्धको समयमा जापानी वेश्यालयमा काम गर्न वाध्य बनाइएका यौनदासी कोरियाली महिलाहरुको मुद्दा समाधान गर्न जापान र दक्षिण कोरियाले ऐतिहासिक समझदारी गरेका छन्।

दुबै पक्षले वार्ता छिटै अगाडि बढाउने सहमति गरेपछि भएको यो सम्झौता सन् १९६५ पछि यो विषयमा गरिएको पहिलो हो।

जापानले यो विषयमा माफी मागेको छ र पीडितका लागि दक्षिण कोरियाले स्थापना गरेको एउटा कोषमा ९० लाख अमेरिकी डलर दिने प्रतिबद्धता जनाएको छ।

जापानले क्षमायाचना गर्नुपर्ने र र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग दक्षिण कोरियाले गरिरहेको थियो।

क्षमायाचना

तस्वीर कपीराइट AFP
Image caption यो मुद्दाले धेरै अगाडि देखि जापान र दक्षिण कोरियाको सम्बन्धमा तनाव उत्पन्न गरिरहेको थियो

जापानका विदेशमन्त्री फुमियो किशिदा उनका समकक्षी युन ब्युङ सेसंग वार्ता गर्न सोल पुगेपछि सहमतिको घोषणा गरिएको हो।

वार्तापछि किशिदाले जापानी प्रधानमन्त्री शिन्जो आबेले हार्दिक क्षमायाचना गरेको पत्रकारहरुलाई बताए।

पछि जापानी प्रधानमन्त्री आबेले दक्षिण कोरियाली राष्ट्रपति पार्क गुन हेलाई टेलिफोन गरेर दोहोराएर क्षमायाचना गरे।

“जापान र दक्षिण कोरिया अब नया युगमा प्रवेश गर्दैछन्,” आबेले पछि पत्रकारहरुलाई भने, “हामीले यो समस्यालाई नयाँ पुस्तामा जान दिनुहुँदैन।”

पार्कले छुट्टै वक्तव्य जारी गरेर धेरैजसो पीडित महिलाहरु वृद्ध भइसकेका हुनाले यो विषयमा सम्झौता अत्यावश्यक भइसकेको बताएकी छिन्।

“यो वर्ष मात्रै उनीहरुमध्ये ९ जनाको निधन भयो,” हेले भनिन्, “वृद्ध यौनदासीहरुको मानसिक पीडा केही घट्ने आशा गरेकी छु।”

योजना

धेरैजसो महिला कोरियाली थिए र अरु महिलाहरु चीन, फिलिपिन्स, इण्डोनेशिया र ताइवानका थिए।

अहिले ती यौनदासी महिला मध्ये ४६ जनामात्रै जीवित छन्।

सहमतिमा यौनदासी महिलाले सिधै क्षतिपूर्ति पाउने भनिएको छैन, तर कोषले ती महिलाहरुलाई सहयोग गर्ने र उनीहरुको मर्यादा र सम्मानको पुनर्स्थापना गर्ने र मानसिक चोटहरुलाई सम्बोधन गर्ने योजनाहरुलाई वित्तीय सहयोग गर्ने भनिएको छ।

केही भूतपूर्व यौनदासी महिलाले सहमतिका ती शब्दप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

ती मध्ये एक ८८ वर्षीय ली योङ सुले बीबीसीलाई भनिन्, “वार्ता साँच्चै पीडितलाई ध्यानमा राखेर गरिएको हो कि होइन, मलाई शंकै छ। हामीलाई पैसा चाहिंदैन, तर जापानले पाप गरेकै हो भने आधिकारिक रुपमा सरकारबाट क्षतिपूर्ति आउनुपर्दछ।”

जापानले यो भन्दा अगाडि धेरैपटक यौनदासीहरुप्रति आफ्नो जिम्मेवारी व्यक्त गरेको र क्षमा मागिसकेको छ।

तर कोरियाली यौनदासीहरुले ती कदमहरुलाई अपुग भन्दै आएका छन्।

दुबै पक्षले अन्तर्राष्ट्रिय मञ्चहरुमा भने यो विषयलाई लिएर एकअर्काको आलोचना नगर्ने सहमति गरेका छन्।