'मोर्चासँग छलफलपछि ३ बुँदे‍मा परिवर्तन गर्न सकिने'

  • 28 डिसेम्बर 2015
तस्वीर कपीराइट bbc
Image caption तीन दलको निर्णयपछि मोर्चासँगको वार्ताले फेरि गति लिने ठानिएको छ

तराई आन्दोलनका मागलाई सम्बोधन गर्ने भन्दै केही दिन पहिले बनाएको तीन बुँदे साझा धारणालाई आन्दोलनरत लोकतान्त्रिक मधेशी मोर्चासँग छलफल गरेर थप परिवर्तन गर्न सकिने निर्णय प्रमुख तीन दलले गरेका छन्।

साझा धारणाले मात्रै आफ्ना माग सम्बोधन नहुने आन्दोलनरत दलहरुको प्रतिक्रियापछि छलफलका लागि सोमबार प्रधानमन्त्री निवासमा जम्मा भएका दलहरुले यस्तो निष्कर्ष निकालेको नेताहरुले बताएका छन्।

उक्त निष्कर्षलाई आफुहरुले सकारात्मक मानेको मोर्चाका नेताहरुले बताएका छन्।

धारणा

आन्दोलनरत मोर्चाले वार्ताका क्रममा राखेको ११ बुँदे मागको जवाफमा प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीले ३ बुँदे साझा धारणा मोर्चालाई बुझाएका थिए।

भारतले समेत स्वागत गरेको उक्त साझाधारणाले मात्र आफ्नो माग सम्बोधन नहुने भन्दै आन्दोलनका कार्यक्रम फिर्ता नलिने निर्णय मोर्चाले गरेको थियो।

आन्दोलनकै क्रममा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसमेत घाइते भएपछि अन्यौलमा परेको जस्तो देखिएको वार्तालाई सहज बनाउन सोमबार प्रमुख तीन दलबीच छलफल भएको हो।

छलफलमा ३ बुँदे अवधारणा भन्दा अझै लचिलो बनेर जान सकिने, तर कुन विषयमा के गर्न सकिन्छ भन्ने बारे आन्दोलनरत मोर्चासँगै बसेर छलफल गर्ने निर्णय भएको छलफलमा सहभागी एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।

उनले भने, "पहिले नै हामीले हाम्रो धारणा यो हो भनेर लैजाने विधिले पनि बिग्रिएको छ, त्यसकारणले त्यसमा खुला हुँदै मोर्चासँग छलफल गर्ने र एउटा साझा धारणा बनाउन प्रयत्न गर्ने मुख्य निर्णय हो।"

सावधानी

तीनवटै दलका शीर्ष नेता सहभागी उक्त छलफलमा हाल संसदमा छलफल भइरहेको संविधान संशोधन विधेयकलाई पनि मोर्चासँग बसेर परिमार्जन गर्न सकिने सहमति भएको बताइएको छ।

तीन दलको सोमबारको निर्णयलाई आन्दोलनरत मोर्चाले सकारात्मक भनेको छ।

मोर्चाको एक घटक तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्ले भने, "हामीले उहाँहरुको त्यो धारणा आधिकारिक रुपमा प्राप्त गरेका छैनौं तर सञ्चारमाध्यमबाट सुन्दाखेरी सरकार साँच्चिकै गम्भीर भएर वार्ता गर्न चाहन्छ र हामीलाई राखेर लचिलो भएर प्रस्तुत हुन्छ भने यो सबैको लागि सन्तोषको विषय हो र खुसीको विषय हो।"

प्रमुख दलहरुले निर्णय गरे जस्तै व्यवहार पनि देखाउनु पर्ने मोर्चाको भनाइ छ।

आफुहरु वार्ताका लागि तयार रहेको र वार्ता परिमाणमुखी बनाउन सावधानी अपनाउनु पर्ने मोर्चाका नेताहरुले बताएका छन्।

महामन्त्री शुक्लले भने, "सरकारले चाँडै भन्दा चाँडै लचिलो भएर वार्ता गरोस् र त्यसबीचमा कुनै पनि त्यस्तो क्रियाकलाप नहोस जसले वार्ताको वातावरण बिग्रिन्छ हामी त्यस प्रति सचेत छौ सरकार पनि सचेत भयो भने सार्थक वार्ता गर्न सक्छौं।"

तीन दलले मोर्चा सँगै छलफल गरेर साझा धारणा बनाउने निर्णय गरे सँगै संविधान संशोधनको विधेयक माथि व्यवस्थापिका संसंदमा सोमबारबाट शुरु भएको सामान्य छलफल पनि १० मिनेट मात्र संचालन भएर अर्को बैठकका लागि सारिएको छ।