गिनी इबोलामुक्त भएको घोषणा

  • 29 डिसेम्बर 2015
तस्वीर कपीराइट AFP
Image caption ३४ दिनकी नौविया गिनीमा इबोलाबाट मुक्त भएकी अन्तिम विरामी मानिएकी छिन्।

विश्व स्वास्थ्य संगठनका एकजना प्रतिनिधिले गिनीको राजधानी कोनाक्रीमा उक्त देश इबोलाबाट मुक्त भएको घोषणा गरेका हुन्।

इबोला संक्रमणका कारण पश्चिम अफ्रीकामा ११ हजारभन्दा बढीको ज्यान गईसकेको छ। मृतकमध्ये धेरैजसो गिनी, लाईबेरिया र सियेरा लियोनका थिए।

मंगलबारको घोषणाको खुशियालीमा गिनीमा पटाकाहरु पड्काइने र गीत संगीत समारोह आयोजना गरिंदैछ।

सावधान

तर गिनीमा भविष्यमापनि इबोला देखा पर्नसक्ने भन्दै विज्ञहरुले सावधान गराएका छन्।

इबोलाका कारण गिनीमा मात्रै २५ सयभन्दा बढी तथा छिमेकी राष्ट्रहरु सियेरा लियोन र लाइबेरियामा झन्डै ९ हजारको मृत्यु भएको थियो।

सियेरा लियोनलाई गत नोभेम्बर महिनामा इबोला मुक्त घोषणा गरिएको थियो भने सेप्टेम्बर महिनामा इबोला मुक्त भनिएको लाइबेरियामा फेरी इबोला देखापरेको छ।

इबोलाबाट बाँचेका अलामा काम्बु डोरेले एएफपी समाचार संस्थालाई वर्षको अन्त्यमा ईश्वरले गिनीलाई दिनसक्ने यो सर्वोत्तम उपहार र गिनीवासीहरुले सुन्न चाहेको सबैभन्दा सुखद खबर भएको बताए।

खुशियालीको वातावरण भएतापनि इबोलाका विरुद्ध चनाखो हुनुपर्ने डब्लुएचओको चेतावनी स्थानीय स्वास्थ्यकर्मीले दोहोर्याएका छन्।

इबोलाबाट बाँचेका गिनीका एक स्वास्थ्यकर्मी अल्फा सेनी सूह्माह्ले भने, "हामी अत्यन्त सावधान रहनुपर्छ। खुला संक्रमणलाई रोकिएको भएतापनि हामीले यो रोगलाई निर्मूल चाँही पारेका छैनौं।"

एउटा वक्तव्य जारी गरेर डब्लुएचओले गिनीको सरकार र नागरिकलाई इबोला विरुद्धको लडाईंमा असाधारण नेतृत्व देखाएकोमा बधाई दिएको छ।

तर मार्च र नोभेम्बर महिनाका बीचमा इबोलाका १० नयाँ बिरामीहरु देखा परेकोपनि डब्लुएचओले उल्लेख गरेको छ।

डब्लुएचओको इबोला विरुद्धको टोलीका डा ब्रूस अयलवार्डले आगामी महिनाहरु एकदमै महत्वपूर्ण हुने बताएका छन्।

सन् २०१६ भरी गिनी सहित सियेरा लियोन र लाइबेरियामा ‍इबोला पर्यवेक्षण र प्रतिकार गर्ने डब्लुएचओका टोलीको उपस्थिति रहनेपनि अयलवार्डले जनाएका छन्।

सियेरा लियोन र लाइबेरियामाभन्दा गिनीमा इबोलाका बिरामीको संख्या थोरै भएतापनि यो रोग ती देशमा भन्दा गिनीमा धेरै लामो समयसम्म देखा परेको बीबीसीकी स्वास्थ्य संवाददाता ट्युलिप मजुमदार बताउँछिन्।