ब्रसेल्समा नयाँ वर्षको ‘रमझम स्थगित’

  • 31 डिसेम्बर 2015
ब्रसेल्स् तस्वीर कपीराइट AFP
Image caption ब्रसेल्समा गत वर्ष एक लाख मानिस नयाँ वर्षको स्वागत उत्सवमा सहभागी भएका थिए

बेल्जियमका प्रधानमन्त्री शार्ल मिसेलले ब्रसेल्समा नयाँ वर्षको स्वागत उत्सवकाबेला हमला हुनसक्नेबारे “जानकारी प्राप्त भएको”ले रमझम स्थगित गर्ने निर्णय गरिएको बताएका छन्।

यसै साताको सुरुमा प्रहरीले नयाँ वर्षको धुमधामको बेला आक्रमणहरु गर्ने योजना बनाएको आशंकामा दुई जनालाई पक्राउ गरेको थियो।

गत नोभेम्बर १३ मा प्यारिसमा आक्रमणहरु भएयता बेल्जियम उच्च सतर्कताको अवस्थामा थियो।

आक्रमणका कयौं सहभागीहरु बेल्जियममा बसोबास गर्ने गरेको आशंका थियो।

चिन्ता

ब्रसेल्सका मेयर ज्वान मायुरले सरकारी प्रसारक आरटीबीएफलाई भने, “गृहमन्त्रीसँगको छलफलपछि हामीले बिहिबार साँझ खुशीयाली तथा रमझमहरु नमनाउने निर्णय गर्यौं।”

गत वर्ष नयाँ वर्षलाई स्वागत गर्न ब्रसेल्समा एक लाख मानिस सहभागी भएका थिए।

मेयर मायुरले भने, “यस्तो अवस्थामा हामी हरेक व्यक्तिलाई निगरानी गर्ने र जाँच्ने काम गर्न सक्दैनौं।”

गत महिना प्यारिसमा जस्तै हमलाहरु हुन सक्ने चिन्ताका माझ ब्रसेल्स चार दिन बन्द गरिएको थियो।

‘कामिकाज राइडर्स’

त्यतिबेला त्यहाँका विश्वविद्यालय र विद्यालय पनि बन्द गरिएका थिए।

प्यारिसमा गोली र बमद्वारा गरिएका आक्रमणमा १ सय ३० जनाको ज्यान गएको थियो र सयौं मानिस घाइते भएका थिए।

बेल्जियमा यो साता पक्राउ परेका दुई जना प्यारिस हमलामा सहभागी नभएको अभियोजनकर्ताले बताएका छन्।

‘कामिकाज राइडर्स’ नामक मोटरसाइकल क्लबका सदस्य रहेका उनीहरुलाई बिहीबार अदालतमा उपस्थित गराइदैंछ।