ब्रसल्समा ‘आतंकवाद’ संग सम्बन्धित ६ पक्राउ

  • 31 डिसेम्बर 2015
तस्वीर कपीराइट Reuters
Image caption आतंकवादी हमला हुनसक्ने आशंकाले युरोपेली शहरहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको छ

बेल्जियमको प्रहरीले अंग्रेजी नयां वर्षको पूर्व सन्ध्यामा राजधानी ब्रसल्समा आक्रमण गर्ने षडयन्त्रको छानबिन गर्ने क्रममा हिरासतमा लिइएका थप ६ जनासंग सोधपुछ गरिरहेको छ।

सरकारी वकीलको कार्यालयले मंगलबार पक्राउ परेका दुईजना व्यक्तिको थुना अवधि पनि लम्ब्याएका छन्।

आशंका

आक्रमणको आशंकाका माझ ब्रसल्स शहरमा नयां वर्षको अवसरमा गरिने योजना रहेको आतिशबाजीको कार्यक्रम अब नहुने भएको छ।

युरोपका अन्य ठूला शहरहरुमा पनि नव वर्षको उत्सव मनाउने कार्यक्रमस्थलहरुमा सुरक्षा व्यवस्था कडा तुल्याइएको छ।

तिनमा प्यारिस, लण्डन, बर्लीन र मस्को पनि छन्।

प्यारिसले नव वर्षको पूर्व सन्ध्यामा गर्दै आएको आतिशबाजीको कार्यक्रम रद्द गरेको छ।

तर त्यस्तो रमाइलो उत्सव हुंदै आएको मुख्य कार्यक्रम स्थल सां ज लीसेमा भने मानिसहरुलाई भेला हुन अवरोध गरिने छैन।

मस्कोमा त्यहांको प्रसिद्ध चोक रेड स्क्वाएर सार्वजनिक आवागमनका लागि बन्द गरिएको छ।

योजना

यसैबीच टर्कीको सुरक्षा अधिकारीहरुले आफ्नो देशमा गर्न लागिएको एउटा ठूलो हमलाको योजनालाई भंग गरिदिएको दावी गरेका छन्।

टर्कीमा प्रहरीले राजधानी अंकारामा हुने नव वर्ष समारोहहरुमा हमला गर्ने षडयन्त्र गरेको आशंकामा दुईजनालाई गिरफ्तार गरेको छ।

यसै हप्ता केही अघि अष्ट्रीयाको प्रहरीले आफुसंग मित्रतापूर्ण सम्बन्ध रहेको गुप्तचर निकायले क्रिशमस र अंग्रेजी नयां वर्षको अवसरमा युरोपका ठूला शहरहरुमा हमला हुन सक्ने जोखिम रहेको बताएको जनाएको थियो।

बेल्जियमका प्रधानमन्त्री शार्ल्स मिशेलले पनि ब्रसल्समा हुने नव वर्षका समारोहहरु आफुहरुलाई प्राप्त विश्वासिलो गुप्तचर सूचनाको आधारमा रद्द गरिएको बताएका छन्।