थप भारतीय बिजुली आयातमा अझ ढिलाइ

  • 31 डिसेम्बर 2015
kulekhani
Image caption कुलेखानी जस्तो जलाशययुक्त विद्युत आयोजना नबन्दासम्म विद्युत कटौती पूर्ण रुपमा नहट्ने ठानिएको छ

तराईमा देखिएको असुरक्षाका कारण नेपाल–भारत अन्तरदेशीय विद्युत प्रसारण लाइनको निर्माण प्रभावित हुँदा भारतबाट खरिद गर्ने भनिएको ९० मेगावाट बिजुली भित्र्याउन नसकिएको विद्युत प्राधिकरणले जनाएको छ।

६ किलोमिटर निर्माणको काममात्र बाँकी रहेको उक्त प्रसारण लाइनका लागि पठाइएको सामान असुरक्षाका कारण सम्बन्धित ठाँउमा पुर्याउन नसकिएको प्राधिकरणको भनाइ छ।

अलपत्र

सम्झौता भएको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य पटकपटक धकेलिदैं पछिल्लोपटक डिसेम्बर २० सम्म ल्याइसक्ने योजना बनाइएको थियो।

तर त्यसो पनि नहुंदा पछिल्ला दुई हप्तामामात्रै विद्युत प्राधिकरणले विद्युत कटौतीको अवधि दुई पटकनै बढाएको छ।

पेट्रोलियम पदार्थको अभावका कारण विद्युतको माग बढ्दै गएको र नदीमा पानीको बहाव पनि घट्दै गएको भन्दै विद्युत कटौतीको अवधि प्रतिदिन करिब ११ घण्टा पुर्याइएको छ।

भारतसँग सम्झौता भएको ९० मेगावाट विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडेर हालकै विद्युत कटौतीको तालिकालाई कायम राख्ने योजनामा रहेको प्राधिकरणले तराईमा देखिएको असहज स्थितिका कारण उक्त योजनामा असर परेको जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने, "एउटा टावरको जडानको काम र ६ किलोमिटर तार तान्ने काम बाँकी रहेको छ। सामानहरु हामीसँग छ तर असुरक्षाको कारणले बर्दिवासमा रहेको सामान ट्रकमार्फत सिङगाई भन्ने गाविसमा लैजान समेत नसकेको अवस्था छ।"

थप विद्युत कटौती?

प्रसारण लाइनको भारततर्फको काम सकिएको र नेपालतर्फको काम पनि सक्न बढीमा २० दिन लाग्ने बताइएको छ।

रोकिएको सामान सम्बन्धित क्षेत्रमा पुर्याउन विभिन्न निकायसँग कुरा गरे पनि सुरक्षित वातावरण सिर्जना गर्नेतर्फ कसैले काम नगरेको निर्देशक काफ्लेले बताए।

उनले भने "हामीले हाम्रो तर्फबाट मन्त्रालयमार्फत पनि अनुरोध गर्यौं। सबैले सकारात्मक कुरा गर्नुभएको छ। तर व्यवहारमा त्यो कुरा कार्यान्वयनमा आउन सकेको छैन। यद्यपि हामीले प्रयास जारी राखेका छौं।"

विद्युत उत्पादन गृहहरुको क्षमता जाडो र सुख्खायामका कारण घट्ने क्रम जारी रहेको र बेलैमा भारतबाट खरिद गरिएको बिजुली केन्द्रिय प्रसारण लाइनमा जोड्न नसकिए फेरि लोडसेडिङ् बढाउनुपर्ने स्थिति आउने प्राधिकरणको भनाइ छ।

भारतको मुजफ्फरपुरदेखि नेपालको ढल्केबरसम्मको करिब १ सय ४० किलोमिटर लामो उक्त प्रसारण लाइन ४ सय केभीको रहेको र यसको निर्माणपछि थप विद्युत खरिद गर्न सहज हुने अधिकारीहरुले बताएका छन्।