'म्युनिखमा आतंकवादी हमलाको खतरा'

  • 1 जनवरी 2016
paris तस्वीर कपीराइट Reuters
Image caption म्युनिखमात्रै होइन प्यारिशसहितका युरोपेली शहरहरुमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ

जर्मन शहर म्युनिखको प्रहरीले भनेको छ, त्यहां आतंकवादी हमला हुनसक्ने सूचना उसलाई प्राप्त भएको छ।

दुईवटा रेल स्टेशन खालि गरिएका छन् र मानिसहरुलाई भीडभाडबाट टाढै बस्न भनिएको छ।

नयां वर्ष २०१६ को स्वागतमा खुशीयाली कार्यक्रमहरुमा आक्रमण हुन सक्ने आशंकामा युरोपेली शहरहरुमा उच्चसुरक्षा सतर्कता अपनाइएको छ।

खतरा

एउटा ठूलो सुरक्षा अभियान चालू रहेको प्यारिशमा आतसबाजी रद्ध गरिएको छ।

मानिसहरुले आर्क ड ट्रिओम्फमा पांच मिनेटको भिडियो कार्यक्रम हेरेका छन् जुन कार्यक्रम फ्रान्सको झण्डा फरफराएर अन्त्य गरिएको थियो।

नोभेम्बरका इस्लामिक हमलापछि यो नै सबैभन्दा ठूलो जमघट हो।

यसअघि मस्कोमा आतसबाजी पांच मिनेट ढिलो गरिएको थियो र रेड स्कावयर भनिने शहरको मुख्य चोक पहिलोपटक बन्द गरिएको थियो।

बेल्जियमको राजधानी ब्रसेल्समा पनि सबै सार्वजनिक कार्यक्रमहरु रद्ध गरिएका छन्।

कदम

अधिकारीहरुले फेसबुकमा जनाएअनुसार उनीहरुलाई नयां वर्ष २०१६को पूर्वसन्ध्यामा आक्रमण हुने सक्ने गम्भीर सूचनाहरु प्राप्त भएका छन्।

तर उनीहरुले थप विवरण खुलाएका छैनन्।

यसैगरी प्रहरीले ट्वीटरमा सूचना राखेर मानिसहरुलाई भीडभाडबाट टाढै बस्न भनेको छ।

स्थानीय अखबार टीजेडका अनुसार शहरका विभिन्न स्थानमा आक्रमणकारीहरुको थुप्रै समूहले हमला गर्न सक्ने प्रहरीले ठानेको छ।

प्रहरीका प्रवक्ताले आफूहरुलाई ठोस सूचना आएको र त्यसलाई बेवास्ता गर्न सक्ने अवस्था नरहेको जनाएका छन्।

शहरका प्रमुख दुई रेलवे स्टेशन खालि गराइएको छ र तिनलाई अहिले सशस्त्र प्रहरीले घेरिरहेका छन्।

गत नोभेम्बरमा ह्यानोभरमा ठोस सुरक्षा खतरा देखाउंदै जर्मनी र नेदरल्याण्डसबीचको फुटबल खेल रद्ध गरिएको स्तरकै खतरासंग म्युनिखको घटनालाई तुलना गरिएको छ।

प्रहरी प्रवक्ताले आफूहरुले सकेसम्म खतरा न्यूनिकरण गर्न चाहेकाले पछिल्लो कदमहरु चालिएको जनाएका छन्।