सुरक्षा सावधानीमाझ नयाँ वर्षको स्वागत

  • 1 जनवरी 2016
तस्वीर कपीराइट AFP
Image caption अन्यत्र भने अंग्रेजी क्यालेण्डरको नयाा वर्षलाई स्वागत गर्न रंगीचंगी कार्यक्रमहरु गरिए

प्यारीसमा नोभेम्बरमा इस्लामवादी समूहले गरेको हमलापश्चात भएका सबभन्दा ठूला सार्वजनिक जमघटमा सुरक्षा दिन व्यापक तैनाथी गरिएको छ।

त्यहाँ आतिशबाजीको कार्यक्रम स्थगित गरिएको छ।

जर्मनीको म्युनिख शहरमा नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित उत्सवहरुमा आत्मघाती हमलाहरु गरिने सूचना पाएपछि प्रहरीले त्यहाँ आतंकवादबारे सावधानीको सूचना जारी गरेको छ।

उत्सव

लन्डनको बीग बेनमा बिहीबार मध्यरात घण्टा बजेपछि छेवैको टेम्स नदीमा आतिशबाजीको मनमोहक उत्सव गरियो।

टिकट किनेर गएकाहरुलाई नदीको किनारसम्म जान दिइएको थियो।

पछि अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्वाएरमा प्रख्यात क्रिस्टल बल खसालेर नयाँ वर्षको स्वागत गरियो।

तर यसपटकको उत्सवमा असुरक्षाको कालो छायाँको असर ठाउँठाउँमा देखा प-यो।

लन्डनमा अतिरिक्त प्रहरीको तैनाथीका माझ एक लाख मानिसहरुले टेम्स नदी छेउको आतिशबाजी प्रदर्शनमा भाग लिए।

न्यूयोर्कको टाइम्स स्क्वाएरमा कडा सुरक्षाका माझ दश लाख मानिस जम्मा भए।

तस्वीर कपीराइट
Image caption लन्डनमा प्रहरीको तैनाथीका माझ १ लाख मानिसहरु आतिशवाजी हेर्न भेला भएका थिए

य'रोपका विभिन्न शहरहरुमा पनि सुरक्षा सावधानीका माझ नयाँ वर्षलाई स्वागत गरियो।

जर्मनीमा प्रहरीले म्युनिख शहरमा सुरक्षा सावधानीको सूचना जारी गरेको थियो।

सुरक्षा व्यवस्था

आत्मघाती हमलाहरु हुनसक्ने त्रास बढेकाले मध्यरातभन्दा केही घण्टा अगाडी म्युनिखका दुईवटा ट्रेन स्टेसन खाली गराइएको थियो।

मानिसहरुलाई भींडभाडमा नजान भनियो।

ब्याभारीया क्षेत्रका आन्तरिक मामिला मन्त्री जोआचीम हेर्मानले त्यसरी सतर्क गराउनु उचित भएको बताए।

उनले भने, "म्युनिख प्रहरीले सर्वसाधारणलाई सूचित गरेको छ। खासगरी म्युनिखको मुख्य ट्रेन स्टेसन र पाजीङ्ग ट्रेन स्टेसन खाली गराउन यी निर्णय लिइएका हुन्। मलाई लाग्छ यी निर्णय सही थिए। किनभने हामीले कुनै खास ठाउँ र समयसमेत जोडिएर आएका खतरापूर्ण सूचनाहरु हुँदाहुँदै जोखिम लिन हुँदैन।"

म्युनिख शहरभर विद्रोही इस्लामिक स्टेट समूहको सम्भावित इकाइको खोजीमा बाक्लो सुरक्षा उपस्थिति छ।

एक प्रहरी प्रवक्ता एलिजबेथ माट्जिङ्गरले फ्रान्सको गुप्तचर निकायमार्फत आइएससंग जोडिएका पाँच देखि सात जनाले शहरको दुई ट्रेन स्टेसनमा नव वर्षको पूर्वसन्ध्यामा आत्मघाती हमलाको योजना बनाइरहेको सूचना पाएको बताइन्।

उनले भनिन्, "सूचनामा दुई स्टेसनको नाम उल्लेख थियो। एक म्युनिख सेन्ट्रल स्टेसन र अर्को शहरको केन्द्रबाट १० किलोमिटर पर रहेको पाजिङ्ग स्टेसन।"

उनले प्रहरीसंग केही संदिग्धको नाम भएको तर तिनको पुष्टि नभइसकेको बताइन्।

प्रदर्शन

हाल ती स्टेसन पुन: खुलेका छन् तर मानिसहरुलाई सावधान रहन भनिएको छ।

फ्रान्सको राजधानी प्यारीसमा परम्परागत आतिशबाजीको कार्यक्रम स्थगित गरियो।

त्यसको साटो आर्क ड ट्रिओम्फमा गरिएको पाँच मिनेटको भिडियो साँ जेलिजेमा रहेका स्क्रीनमार्फत प्रदर्शन गरिए।

उपस्थित मानिसहरुले आफुहरु नडराएको बताए।

एक पुरुषले भने, "डर पटक्कै लागेको छैन। वरपर थुप्रै प्रहरी छन् जसले सुरक्षासम्बन्धी काम कारवाही गरिरहेका छन्। त्यसैले समस्या छैन।"

अन्यत्र नयाँ वर्षलाई उमंगका साथ विभिन्न कार्यक्रम गरि स्वागत गरियो। दुबईमा एक बहुतले घरमा आगलागी भएपनि उत्सव रोकिएनन्।

अफ्रिकी देश सियरा लियोन जहाँको राजधानी फ्रिटाउन पोहोर इबोला संक्रमणका कारण सुनसान रहेको थियो त्यहाँ यसपाली संक्रमण मुक्त भएका कारण रमाइलो मनाइएको छ।