बन्दुकजन्य हिंसा रोक्ने ओबामाको दृढता

  • 2 जनवरी 2016
विद्यार्थीहरु तस्वीर कपीराइट AP
Image caption अमेरिकाका विद्यालयहरुमा बन्दुक हिंसाका कारण विद्यार्थीहरुमाझ त्रासस रहने गर्दछ।

राष्ट्रपति बाराक ओबामाले अमेरिकामा बन्दुक हिंसाको समस्या नियन्त्रण गर्न आफूले एकतर्फी कारवाही अगाडि बढाउने बताएका छन्।

सन् २०१६ को पहिलो साप्ताहिक संवोधनमा ओबामाले महान्यायाधिवक्ता लरेटा लिन्चसँग आफ्नो भावि कदमबारे छलफल गर्ने बताए।

बन्दुक हिंसा नियन्त्रणगर्नेबारे ओबामाको एकतर्फी योजनाप्रति बन्दुकका पक्षपाती र रिपब्लिकनहरुबाट आलोचना हुने विश्लेषकहरुको भनाई छ।

तर ओबामाले भनेका छन् उनले अभिभावक बालबालिका र शिक्षकहरुबाट थुप्रै चिठ्ठी पाइसकेका छन्।

'एक कदम'

उनले भने सबै किसिमका हिंसा रोक्न नसकिएपनि बालबालिकाहरुलाई बन्दुकबाट हुने हिंसाबाट जोगाउन एक कदम चाल्नु आवश्यक छ।

“हाम्रा बालबालिकाहरुलाई बन्दुकमार्फत हुने हिंसाबाट बचाउन कंग्रेसले साच्चै केहि गर्यो भने त्यो कस्तो होला?

तर उनले न्युनतम बन्दुक नियन्त्रण कानुनलाई पारित गर्नेतर्फ कंग्रेसको समर्थन अहिलेसम्म हासिल गर्न नसक्नु आफ्नो कार्यकालको सबैभन्दा दिक्कलाग्दो विषय भएको बताए।

बीबीसीकी लरा बिकर भन्छिन्, “राष्ट्रपतिले आफ्नो विशेष अधिकार प्रयोग गरेर बन्दुकका क्रेताको पृष्ठभूमी जाँच गर्नेबारे नयाँ नियमहरु ल्याउन सक्छन्। तर त्यस्को कडा विरोध हुने सम्भावना प्रवल छ।”

अहिले वार्षिक विदाको बेला अमेरिकामा मानिसहरुले आफन्तलाई बन्दुक समेत उपहार दिने गर्दछन्।

बन्दुक

Image caption अमेरिकाको संसदमा बन्दुक बोक्ने स्वतन्त्रताको पक्षपातीहरुको दबदबा रहेने गरेको छ

टेक्सास राज्यमा नयाँ कानून अनुसारमा मानिसहरुले शरिरको पछाडिको भागमा देखिने गरि नै बन्दुक बोक्न पाउँछन्।

बन्दुक हिंसाका कारण कयौं मानिसको ज्यान गएपनि त्यसलाई नियन्त्रण गर्ने यसअघिको प्रयासहरु विफल भएका थिए।

सन् २०१३मा कनेक्टीकट राज्यमा २० बालबालिका र ६ जना वयस्कको बन्दुक हिंसामा मृत्यु भएपछि रिपब्लिकनले ल्याएको एक विधेयक आवश्यक ६० मत पाउन नसकेर पारित हुन सकेको थिएन।