शिया नेताको हत्याको विरोधमा तीब्र प्रतिक्रिया

  • 3 जनवरी 2016
तस्वीर कपीराइट Getty
Image caption शिया धार्मिक नेतालाई आतंकवादको आरोपमा हत्या गरिएपछि विरोध प्रकट भएको छ

साउदी अरेबियाले प्रमुख शिया धार्मिक नेता निम्र अल निम्रको हत्या गरेपछि यो क्षेत्रभरका शिया समुदायमा आक्रोश र विरोध पैदा भएको छ।

शिया बहुल इरान र सुन्नी बहुल साउदी अरेबिया यो क्षेत्रका प्रतिद्वन्द्वी हुन्।

शिया र सुन्नी इस्लाम धर्मका दुइ प्रमुख धार हुन्।

इरानले हत्याको विरोधको नेतृत्व गर्दै औपचारिक भत्सर्ना गरेको छ।

आक्रमण

इरानको राजधानी तेहरानमा रहेको साउदी दूतावासमा इरानी प्रदर्शनकारीहरुले आक्रमण गरेका छन् र आगो लगाइदिएका छन्।

आक्रमणको एक घण्टापछि प्रहरीले आगो निभाएको छ।

शेख निम्र अल निम्र आतंकबादीको आरोपमा मारिने ४७ मध्ये एक थिए।

तस्वीर कपीराइट AP
Image caption विरोध प्रदर्शन गर्दै बहराइनका महिलाहरु, यो क्षेत्रका विभिन्न स्थानमा विरोध प्रकट भएको छ

तर उनका समर्थकहरु निम्रले साउदी राजतन्त्रको शान्तिपूर्ण विरोधलाई समर्थन गरेका कारण मारिएको ठान्छन्।

इरानी विदेश मन्त्रालयले प्रदर्शनकारीलाई कुटनीतिक भवनहरुमाथि आक्रमण नगर्न भनेको छ तर उनको मृत्युप्रति तीब्र प्रतिक्रिया जाहेर गरेको छ।

चेतावनी

इरानी अधिकारीहरुले सुन्नी अधिराज्य साउदीले यो हत्याको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

तेहरानस्थित साउदी कुटनीतिज्ञसँग स्पष्टिकरण लिइएको छ।

इरानको रिभोल्युशनरी गार्ड्स कर्प्सले कडा बदला लिने बताएको छ।

तस्वीर कपीराइट ISNA
Image caption साउदी अरबकै शिया समुदाय बहुल पूर्वी प्रान्तमा पनि प्रतिबन्ध उल्लंघन गर्दै विरोध प्रदर्शन भएको छ

साउदी अरेबियाले पनि इरानी कुटनीतिज्ञलाई इरानको प्रतिक्रियाको विरोधमा कडा चिठी थमाएको छ।

प्रदर्शन

इरानका सर्वोच्च नेता आयतोल्ला खमेनीको वेवसाइटमा राखिएको तस्वीरमा हत्यालाई तथाकथित इश्लामिक स्टेट समुहसँग तुलना गरिएको छ।

लेबननको शिया परिषदले हत्यालाई ठूलो गल्ती भनेको छ।

बहराइन, इराक, यमन, पाकिस्तान र भारत शासित काश्मीरमा समेत प्रदर्शन भएको छ।

अमेरिकाले हत्याप्रति चासो व्यक्त गर्दै समुहगत तनाव घटाउनुपर्ने बेलामा झन बढ्ने खतरा देखिएको जनाएको छ।

साउदी अरेबियाकै पूर्वी प्रान्तमा विरोध प्रदर्शनमा लगाइएको प्रतिबन्ध उल्लंघन गर्दै जुलुश उठेको छ।

प्रदर्शनकारीले साउदी राजतन्त्र र राजपरिवारको विरोधमा नारा लगाएका छन्।