तातोपानी नाका सञ्चालन गर्न बेइजिङमा पहल

  • 4 जनवरी 2016
Image caption वार्षिक ६ अर्ब रुपैयाँ राजश्व संकलन हुने तातोपानी नाका भूकम्पका कारण विगत आठ महिनादेखि ठप्प छ।

भूकम्पपछि अवरुद्ध हुन पुगेको चीनसँगको व्यापारिक नाका तातोपानी क्षेत्र जोखिमपूर्ण रहेको चिनियाँ भूगर्भविदको निष्कर्षमाझ भन्सार कार्यालय सञ्चालनमा ल्याउने विकल्पबारे छलफल भइरहेको चीनका लागि नेपाली राजदूतले बताएका छन्।

पुरानै ठाँउमा अस्थायी ढंगले पुन: काम गर्ने वा दीर्घकालका निम्ति दुवै देशका भन्सार तातोपानी क्षेत्रभन्दा टाढा सारेपछि मात्रै काम शुरु गर्ने भन्ने विकल्प चिनियाँ पक्षले अघि सारेको उनले बताए।

नेपालले भूकम्पका कारण आठ महिनादेखि बन्द रहेको उक्त नाका पुन खोल्न चीन सरकारलाई आग्रह गरेको थियो।

यसअघि नेपालले बारम्बार आग्रह गरेपनि चिनियाँ पक्ष तातोपानी नाका खुलाउने तत्परता देखाएको थिएन।

विकल्प

भूकम्पपछि उक्त क्षेत्र निकै जोखिमपूर्ण बनेको आफ्ना भूगर्भविद्को रिपोर्टलाई आधार मानेका अधिकारीहरुले विकल्प अघि सारेका हुन्।

त्यसका निम्ति भइरहेको गृहकार्यबारे बेइजिङस्थित नेपाली राजदूत महेश मास्केले बीबीसीलाई भने, “विकल्प भनेको अलि टाढै चीनतर्फ पनि अलि वरै र नेपालतर्फ अलि पर टाढै गरी दुईतर्फ भन्सारको व्यवस्था मिलाएर गाडी तातोपानी नरोक्ने गरी आउने जाने व्यवस्था गर्ने कि भन्ने कुरा भइरहेको छ।”

उनका अनुसार सम्भावित मानवीय क्षतिलाई रोक्ने उद्देश्य राखिएको विकल्प अघि सारिएको चिनियाँ अधिकारीहरुको भनाई छ।

तर पहिलो विकल्प अनुसार भन्सार कार्यालय कहाँ राख्ने भन्ने टुंगो पनि नलागेकाले उक्त विकल्पले मूर्त रुप लिन समय लाग्ने बताइएको छ।

सहमति

त्यसैले दोस्रो विकल्प अस्थायी प्रकृतिको रुपमा हुने जनाउँदै राजदूत मास्के भन्छन्, “अस्थायी किसिमले त्यही तातोपानी नाका अनुकूलता अनुसार खोल्ने र बन्द गर्ने कुरा चाहिँ चिनियाँ पक्षले कतिबेला हामीलाई सहमति दिन्छ त्यसैमा भरपर्छ।”

दक्षिणी छिमेकी भारतसँग जोडिएका नाकाहरुमा देखिएको समस्याका कारण नेपालमा अत्यावश्यक सामाग्रीहरुको अभाव भएका बेला उत्तरी नियमित नाका तातोपानी तत्काल खोल्नुपर्ने नेपाली व्यापारीहरुले पनि माग गर्दै आएका छन्।

वार्षिक ६ अर्ब रुपैयाँ राजश्व संकलन हुने उक्त व्यापारिक नाका आठ महिनादेखि ठप्प छ।