भारतमा ‍भूकम्प, कम्तीमा ९ जनाको मृत्यु

  • 4 जनवरी 2016
तस्वीर कपीराइट AP
Image caption इम्फालमा भूकम्पपछि मानिसहरु सडकमा निस्किएका थिए

भारतको उत्तरपूर्वी क्षेत्रमा गएको ६.७ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा नौ जनाको ज्यान गएको छ। उक्त क्षेत्र भारतको म्यानमार र बांग्लादेशको सीमा नजिकै पर्छ।

अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्र (युएसजीएस) का अनुसार भारतको मणिपुर राज्यबाट २९ किलोमिटरको दुरीमा रहेको इम्फाल भन्ने ठाउँमा विहान ४ बजेर ३५ मिनेटमा भूकम्प गएको थियो।

उक्त क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो।

क्षति

सुरुमा उक्त भूकम्प रिक्टर स्केलमा ६.८ म्याग्निच्युडको मापन गरिएको बताइएको थियो।

भारतको मौसम विभागले भनेको छ, उक्त भूकम्प जमिनबाट १७ किलोमिटरको गहिराईमा गएको थियो।

इम्फालमा भूकम्पको धक्काले पर्खालहरु भत्किएका र भर्खरै बनेको ६ तल्लाको एउटा भवन ढलेको प्रहरीले जनाएको छ। त्यहाँका अन्य भवनहरुमा पनि क्षति पुगेको जनाइएको छ।

भारतको समाचार संस्था पीटिआइका अनुसार भारतमा कम्तीमा ६ जनाको ज्यान गएको छ भने ३० भन्दा बढी घाइते भएका छन्।

स्थिति

छिमेकी बांग्लादेशमा तीन जनाको ज्यान गएको र दर्जनौं घाइतेलाई उपचारका लागि अस्पतालमा राखिएको खबरहरु आएका छन्।

बांग्लादेशको राजधानी ढाकास्थित बीबीसीका सलमान सइदले त्यहाँ आत्तिएका मानिसहरु घरबाहिर सडकमा निस्किएको बताए।

समाचार संस्था एएफपीले प्रहरीलाई उद्धृत गर्दै भनेको छ, भूकम्पपछि एकजना २३ वर्षीय मानिसको मस्तिष्कघात र अरु दुईजनाको हृदयघातका कारण मृत्यु भएको छ।

भूकम्पबाट जोगिन चार तलाको बरण्डाबाट हाम फाल्न लाग्दा विश्वविद्यालयका एकजना विद्यार्थी गम्भीर रुपमा घाइते भएको एएफपीले बताएको छ।