इरानसँग सम्बन्ध विच्छेद: साउदी अरेबिया

  • 4 जनवरी 2016
तस्वीर कपीराइट TSANIM

एक जना नाम चलेका शिया धर्म गुरुलाई मृत्युदण्ड दिइएपछि उत्पन्न तनावबीच साउदी अरेबियाले इरानसँगको कुटनीतिक सम्बन्ध विच्छेद गरेको छ।

साउदी विदेशमन्त्रीले इरानी कुटनीतिज्ञलाई ४० घण्टाभित्र मुलुक छाड्न भनिएको पनि जनाए।

पछिल्लो तनावपछि संयुक्त राज्य अमेरिकाले संयम अपनाउन आग्रह गरेको छ।

सेख निम्र अल निम्रसहित ४६ जनालाई मृत्युदण्ड दिइएको विरोधमा शनिबार प्रदर्शनकारीहरुले तेहरानस्थित साउदी दूतावासमाथी आक्रमण गरेका थिए।

तनाव

एक अर्काका प्रतिद्वन्द्वी रहेका साउदी अरेबिया र इरानबीचको सम्बन्ध लामो समयदेखि कटुतापूर्ण रहँदै आएको थियो।

तर नाम चलेका शिया धर्मगुरु निम्र अल निम्रलाई शनिबार मृत्युदण्ड दिइएपछि उक्त तनाव एकाएक चुलियो।

अक्रोशित भीडले तेहरानस्थित साउदी दूतावासमा ढुँगामुडा र मसादस्थित कन्सुलेटको कार्यलयमा आक्रमण गरेको थियो।

इरानका राष्ट्रपति हसन रुहानीले उक्त हिंसाको आलोचना गरेका छन्।

तर उनले मृत्युदण्डबारेको साउदी निर्णय अमानवीय रहेको पनि बताए।

आतंकवादसम्बन्धी आरोपमा साउदीले दोषी ठहर गरेका उनीहरुलाई, इरानी नेतृत्वले शान्तिपूर्ण विरोधको वकालत गर्दै आएका शहिदको रुपमा व्याख्या गरिरहेको छ।

सर्वोच्च इरानी नेता अयातुल्लाह खामेनीले आफ्नो निर्णयको कारण साउदीले दैवी प्रतिशोध सामना गर्नुपर्ने भविष्यवाणी गरेका छन्।

इरानी कुटनीतिज्ञलाई देश छाड्न साउदी अरेबियाले अकस्मात दिएको निर्देशनले दुई देशको सम्बन्धलाई कयौँ वर्ष यताको सबैभन्दा खराब बिन्दुमा ल्याइदिएको छ।

तस्वीर कपीराइट EPA

कुटनीतिक सम्बन्ध विच्छेदको घोषणा गर्ने क्रममा साउदी अरेबीयाले इरानमाथि क्षेत्रीय रुपमा हिंसालाई प्रायोजन गरिरहेको आरोप लगाएको छ।

चिन्ता

साउदी विदेशमन्त्री आदिल अल जुबैरले भने, “इरानले साउदी अरेबियासहित यस क्षेत्रमा हतियार बाँडिरहेको छ र आतंकवादी दस्ता खडा गरिरहेको छ। हत्या, हिंसा र ध्वसंको बलमा अरब विश्वमा नकारात्मक र आक्रामक हस्तक्षेप गर्ने उसको इतिहास छ।”

प्रमुख शिया र सुन्नी शक्तिकेन्द्रबीच उत्पन्न पछिल्लो विभाजनको चपेटामा मध्यपूर्व पर्ने देखिन्छ, जहाँ भएका कयौँ ध्वंसात्मक युद्धमा यी दुई राष्ट्रहरु एक अर्काको विपक्षमा उभिएका छन्।

अघिल्लो वर्ष यमनको द्वन्द्व अन्त्य गर्न वार्ता शुरु भएको थियो।

यसै महिना सिरिया संकट समाधानका निम्ति पनि त्यस्तै छलफल थालिने आशा गरिएको थियो।

बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय सम्वाददता लिस डुसेट भन्छिन्, पछिल्लो निराशाजनक कुटनीतिक घटनाक्रमले, उक्त सम्भावनालाई भयंकर जटिल बनाएको छ।