शान्ति प्रयास बिथोलिंदैन: साउदी अरेबिया

  • 5 जनवरी 2016
तस्वीर कपीराइट AFP

राष्ट्रसंघस्थित साउदी अरेबियाका प्रतिनिधिले इरानसँगको पछिल्लो तनावले यमन र सिरियामा जारी शान्ति प्रयास प्रभावित नहुने बताएका छन्।

साउदी अरेबियाका स्थायी प्रतिनिधि अब्दल्लाह अल मौलीमीले तेहरानले अरुका मामिलामा हस्तक्षेप गर्न छाडे दुई देशबिचको सम्बन्ध सुध्रिन सक्ने बताए।

इरानसँग कूटनीतिक सम्बन्ध विच्छेद गरे लगत्तै साउदी अरेबियाले सबै व्यापारिक सम्बन्ध एवं हवाई सम्पर्क तोड्ने निर्णय गरेको छ।

रियादलाई समर्थन गरिरहेका केही अरब राष्ट्रहरुले पनि इरानविरुद्ध कूटनीतिक कदम चाल्ने निर्णय गरेका थिए।

आलोचना

न्युयोर्कमा बोल्दै साउदी अरेबियाका राष्ट्रसंघ स्थित स्थायी प्रतिनिधिले इरानले साउदी अरेबियासहित अन्य देशका मामिलामा हस्तक्षेप गर्न बन्द गर्नुपर्ने धारणा राखे।

उनले पछिल्लो विवादले सिरिया र यमनमा भइरहेको शान्ति स्थापनाको प्रयासलाई प्रभावित नपार्ने पनि बताए।

उनले भने, “कूटनीतिक सम्बन्ध तोडिनुअघि पनि इरानीहरु यी शान्ति प्रयासहरुप्रति त्यति सकारात्मक थिएनन, उनीहरुले नकारात्मक एवं उत्तजेक अडानहरु राख्दै आएका थिए र मलाई लाग्दैन कि सम्बन्ध टुटेका कारण अब उनीहरुले आफ्ना त्यस्ता व्यवहार बन्द गर्नेछन्।”

एक जना शिया मुसलमान धर्मगुरु निम्र अल निम्रलाई मृत्युदण्ड दिइएकोमा आक्रोशित भएका मानिसको हुलले शनिबार तेहरानस्थित साउदी अरेबीयाको दूतावासमा आक्रमण गरेपछि पछिल्लो तनाव शुरु भएको हो।

साउदी अरेबियाको समर्थन गर्दै बहराइन र सुडानले इरानसँग सम्बन्ध तोडेका छन् भने संयुक्त अरब एमिरेट्सले इरानस्थित आफ्नो कूटनीतिक निकायको स्तर घटाएको छ।

सुन्नी राजतन्त्रको शासन रहेको तर बहुसंख्यक जनसंख्या शिया रहेको बहराईनले इरानी कूटनीतिज्ञलाई ४८ घण्टाभित्र देश छाड्न भनेको छ।

चिन्ता

टर्कीले साउदी अरेबिया र इरान दुवैलाई पछिल्लो कूटनीतिक विवाद समाधान गर्न आग्रह गरेको छ।

टर्कीका उपप्रधानमन्त्रीले शिया धर्मगुरुलाई मृत्युदण्ड दिने साउदी अरेबियाको निर्णय साथै तेहरानमा साउदी अरेबियाको दूतावासमा गरिएको आक्रमण दुवैको आलोचना गरे।

उनले पछिल्लो विवादले क्षेत्रीय तनावलाई झन् बढाउने भन्दै चिन्ता जनाएका छन्।

राष्ट्रसंघस्थित इरानी प्रतिनिधिले आफ्नो देशले साउदी अरेबियाको दूतावासमाथि आक्रमणमा संल्गनहरुलाई गिरफ्तार गर्ने प्रयास गरिरहेको जनाएका छन्।

अमेरिकी विदेशमन्त्री जन केरीले तनाव मत्थर पार्न दुवै देशका आफ्ना समकक्षीहरुसँग टेलिफोनमा कुराकानी गरेको बताइएको छ।

इरानको विदेश मन्त्रालयले उक्त क्षेत्रमा तनाव र झडप बढाउने नीतिलाई निरन्तरता दिएको भन्दै साउदी अरेबियाको आलोचना गरेको छ।

पछिल्लो विवादकै कारण सोमबार तेल र सुनको मूल्यमा वृद्धि हुनुका साथै विश्व बजारमा समेत असर परेको छ।