बन्दुक खरिदमा कडाई गर्ने नीति घोषणा

  • 6 जनवरी 2016
तस्वीर कपीराइट Reuters

ह्वाईट हाउसमा एउटा भावुक सम्बोधनमार्फत अमेरिकी राष्ट्रपति ओबामाले बन्दुक खरिदमा कडाई गर्नेबारे नयाँ योजना सार्वजनिक गरेका छन्।

गोली लागेर ज्यान गुमाएका व्यक्तिका पीडित परिवारको उपस्थितिमा उनले मानसिक स्वास्थय र आपराधिक गतिविधिमा संलग्नता लगायत विस्तृत पृष्ठभूमि जाँच गरेर मात्र बन्दुक राख्न दिइने बताए।

नेश्नल राइफल एशोसियसनले राष्ट्रपति ओबामाले घोषणा गरेका नीति विरुद्ध संघर्ष गर्ने बताएको छ।

रिपब्लिकन नेताहरुले ओबामाको निर्णय विरुद्ध अदालतमा चुनौती गर्ने चेतावनी दिएका छन्।

घोषणा

तस्वीर कपीराइट AP

बन्दुक नियन्त्रण योजना सार्वजनिक गर्दै राष्ट्रपति ओबामाले ‘निरन्तर क्षमा माग्ने अवस्था रोकिनुपर्ने’ बताए।

आँसु पुछ्दै ओबामाले २० जना बालबालिका र ६ जना वयस्कको ज्यान जाने गरी सन् २०१२ मा स्याण्डी हूक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डलाई स्मरण गरे।

उनले भने, “बन्दुक राख्न पाउनुपर्छ भन्ने विचारको वकालत गर्नेहरुले अहिले कंग्रेसलाई बन्धक बनाउन सफल भएका होलान तर तिनीहरुले अमेरिकालाई बन्धक बनाउन सक्दैनन्। स्वतन्त्रताका नाममा हामीले यस्ता नंरसहारलाई सधैँ स्वीकार गरिरहन सक्दैनौँ।”

उनले थपे, “म फेरि भन्न चाहन्छु कंग्रेसले केही गर्नैपर्छ, कंग्रेसले निर्णय नलिउन्जेलसम्म यो कोठामा उपस्थित व्यक्तिहरु चुप लागेर बस्ने छैनन्।”

बर्षौ देखी कंग्रेसले विरोध गरिरहेका केही प्रावधानहरुलाई ओबामाले कार्यकारी आदेशमार्फत लागू गराउने छन्।

चुनौती

तर नेशनल राइफल असोसिएशनले नयाँ प्रावधानविरुद्ध कानुनी चुनौती दिने बताएको छ।

उसले भनेको छ, ओबामाका प्रस्तावहरुले, उनले आफ्नो भाषणमा उल्लेख गरेका कुनै पनि सामूहिक हत्याकाण्ड रोक्न सक्ने थिएन्।

रिपब्लिकनका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्न प्रयास गरिरहेका अधिकांश नेताहरुले पनि आफू निर्वाचित भए ओबामाको कार्यकारी आदेश खारेज गर्ने बताएका छन्।

हाउस अफ रेप्रेजेन्टेटिभका रिपब्लिकन नेता पल रायनले राष्ट्रपतिद्वारा ल्याइएको प्रावधानलाई अदालतमा चुनौती दिइने निश्चित भएको बताएका छन्।

उनको धारणा छ, "राष्ट्रपतिका शब्द र कदमहरु स्वतन्त्रतालाई नजरअन्दाज गर्ने प्रकृतिको छ।"

बीबीसीका आलिम मक्बुल भन्छन्, बन्दुकसम्बन्धी हिंसामा हरेक वर्ष कैयौं हजार मानिसहरुले ज्यान गुमाउने गरेकोबारे उनको भावउत्तेजक सम्बोधन थियो।

बन्दुक आक्रमणमा बाँच्न सफल र मारिएका मानिसहरुको आफन्तमाझ ओबामाले नयाँ नीति सार्वजनिक गरेका हुन्।

ह्वाइट हाउसले कानुनमा कडाई गर्न लागेको अड्कलबाजीबीच पछिल्लो समय अमेरिकामा बन्दुकको विक्रीदर बढेको छ।

विकसित मुलुकहरुमध्ये बन्दुकसम्बन्धी हिंसामा सबैभन्दा बढी अमेरिकामा हरेक वर्ष झण्डै ३० हजार मानिसले ज्यान गुमाउने गरेका छन्।