मोर्चा सहितको कार्यदलको बैठक ‘सकारात्मक’

  • 6 जनवरी 2016
तस्वीर कपीराइट Ram Sarraf
Image caption सीमानाकामा धर्ना दिइरहेको मधेसी मोर्चामाथि आन्दोलनको स्वरुप फेर्न चर्को दवाव छ

प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको संयुक्त कार्यदलको पहिलो बैठकमा छलफल ‘सकारात्मक’ भएको मोर्चाका एकजना नेताले जनाएका छन्।

कार्यदलमा दुबै पक्षका तीन-तीनजना नेता छन्।

दुई पक्षको वार्ताटोली र शीर्ष नेतृत्व तहबीच कैयौं पटकका बैठक विफल भएको देखिएपछि सहमति पहिल्याउन संयुक्त कार्यदल अग्रसर बनेको हो।

मोर्चाले उठाएका प्रदेश सीमाङ्कन र संविधान संशोधन लगायतका विषयबारे कार्यदल सदस्यहरुले आ-आफ्नो प्रारम्भिक धारणा राखेका थिए।

भावी रणनीति

बैठकबारे तराई मधेस सद्भावना पार्टी नेपालका वरिष्ठ नेता रामनरेश रायले भने, “सबैले आ-आफ्ना विचार राख्नुभयो, कुरा राम्रो भएको छ। भोलि बिहान फेरि बस्ने गरी बैठक टुंगियो।”

संविधान विरुद्ध घोषित आन्दोलनका कार्यक्रम सकिएकाले मोर्चाले भावी योजना बनाउन बिहीबार बैठक डाकेको छ।

सीमा-नाकामा जारी धर्ना अन्त्य गरी आन्दोलनको स्वरुप परिवर्तन गर्न मोर्चामाथि चर्को दवाव छ।

त्यस्तो निर्णय लिन कार्यदल बैठकले मोर्चालाई सकारात्मक लाग्ने वातावरण दियो त?

नेता रायले भने, “त्यो भोलि मोर्चाका शीर्ष नेताहरुको छलफलपछि थाहा भैहाल्छ।”

संविधानका विषय वस्तुलाई लिएर प्रमुख तीन दल र मधेसी मोर्चाबीचको राजनीतिक टक्करका कारण देशको हरेक क्षेत्र अस्तव्यस्त बन्न पुगेका छन् भने ठूलो जनधनको क्षति व्यहोर्नु परेको छ।