मोर्चालाई विश्वासमा लिनुपर्छ: राष्ट्र संघ

  • 8 जनवरी 2016
तस्वीर कपीराइट Reuters
Image caption नेपाल आएका राष्ट्रसंघीय उच्च दूतले वार्ता नछोड्न मधेशी मोर्चालाई आग्रह गरेका छन्

संयुक्त राष्ट्र संघका महासचिव बान कि मूनका विशेष दूत जेफ्री फेल्टमनले प्रधानमन्त्री के पी ओलीसँग शुक्रबार भएको भेटमा आन्दोलनरत मोर्चालाई विश्वासमा लिएर समस्या समाधान गर्न आग्रह गरेका छन्।

फेल्टमन-प्रधानमन्त्रीबीच भएको भेटवार्तामा सहभागी प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला विज्ञ गोपाल खनाल भन्छन्- "उहाँले तीन महिना भित्रमा सीमाङकनको विषयमा सबैको सहमति साथ अगाडि बढ्न सकिन्छ कि सकिँदैन, त्यसमा अझै समस्या आउँछ कि? भन्नुभयो।"

प्रधानमन्त्रीलाई उदृत गर्दै खनालले भने- सबैको सहमतिमै अगाडि बढने भएकाले समस्या आउँदैन ।

पछि फेल्टमनले मधेशी मोर्चाका नेताहरुसँग पनि करिब एक घण्टा कुराकानी गरेका थिए।

समाधान

भेटमा सहभागी सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण भन्छ्न्- "मधेशको समस्या के हो? अहिलेको अवस्था के छ? भनेर सोध्नुभयो। हाम्रा कुरा सुन्नुभो । कुराकानीमा नछोड्नोस, कुराकानीबाटै समाधान खोज्नुस भन्ने उहाँको निचोड थियो ।"

नेपालमा माओवादी सशस्त्र द्वन्द्वलाई मूलधारमा समाहित गर्ने बेला त्यसको व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको राष्ट्र संघले समस्या पुन नबल्झोस् भन्ने उद्देश्य राखेको र सोही अनुरुप पछिल्लो उच्च स्तरीय भ्रमण भएको ठानिएको छ।

राष्ट्र संघका लागि नेपालका पूर्व स्थायी प्रतिनिधि तथा पूर्व परराष्ट्र सचिव मधुरमण आचार्य भन्छन्-"नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघको पहिले देखि संलग्नता छ। संविधान निर्माण पछिको परिस्थितिमा राष्ट्र संघको राजनीतिक 'राडार'मा नेपाल अहिले पनि छ भन्ने देखिन्छ।"

काठमाण्डूस्थित एकजना बीबीसी संवाददाता भन्छिन्, तटस्थ संस्थाका रुपमा हेरिने राष्ट्र संघले नेपालप्रति प्रकट गरेको उच्चस्तरीय चासोबाट यहाँको समस्या समाधानको सूत्र त ननिस्कन सक्छ तर दुवै पक्षलाई उनीहरुमाथि अन्तर्राष्ट्रिय निगरानी कायम छ भन्ने आभाष दिलाउन खोजेको अनुमान गर्न सकिन्छ।