जर्मनीमा आप्रवासी कानुन कडा बनाउने प्रस्ताव

  • 9 जनवरी 2016
तस्वीर कपीराइट Reuters
Image caption जर्मन चान्सलर एंगेला मर्केलले आप्रवासी कानुन कडा पार्नेबारे छलफल भइरहेको बताएकी छन्

जर्मन चान्सलर एंगेला मर्केलले शरण खोजिरहेका व्यक्तिहरुले अपराध गरेको पाइए तत्काल उनीहरुको देश फर्काउने कानुन बनाउन प्रस्ताव गरेकी छन्।

मर्केलले भनिन्, "जब अपराध गरिन्छ, मानिसहरुले कानुन बाहिरको काम गर्छन्, त्यसको परिणाम भोग्नुपर्ने हुन्छ।"

मर्केल उनको क्रिश्चिन डेमोक्रयाट पार्टी नेतृत्वको माइन्ज शहरमा भएको बैठक पछि सञ्चारकर्मीसँग बोल्दैथिइन्।

नयाँ योजना अनुसार परिक्षण कालमा रहेकाहरुलाई पनि दोषी पाइए उनीहरुकै देश फर्काइनेछ।

प्रहरीको आलोचना

कोलोन शहरमा नयाँ वर्षको पूर्व सन्ध्यामा महिलामाथि भएका यौन दुर्व्यवहारपछि कानुन परिवर्तन गर्नेबारे कुराकानी हुँदै आएको थियो।

नयाँ वर्षको पूर्व सन्ध्यामा भएको आक्रमणले सारा मुलुकलाई स्तब्ध बनाएको थियो र जर्मनीको आप्रवासीप्रतिको खुला द्वार नीतिमाथि बहस शुरु भएको थियो।

उक्त घटनामाथि प्रहरीको व्यवहारको पनि चर्को आलोचना भएको थियो।

नगर प्रहरीका प्रमुखलाई उनको जिम्मेवारीबाट निलम्बन गरिएको छ।

नगन्य कारवाही

दर्जनौं यौन दुर्व्यवहारका घटना र डकैती हुँदा अस्तव्यस्तता छाएको तर अधिकारीहरुले नगन्य कारवाही गरेको पीडितहरुले बताए।

विद्यमान जर्मन कानुन अनुसार शरण खोजेकाहरु तीन वर्षका लागि जेल परेको अवस्थामा र शरणार्थीको देशमा उनीहरुको ज्यान खतरामा परेको छैन भने मात्र जबर्जस्ती उनीहरुको देश फर्काउने व्यवस्था छ।

चान्सलर मर्केलले भनिन्, "नयाँ वर्षको त्यो रात कोलोन र अन्यत्र पनि के भएको थियो भन्नेबारे हामीले फेरि पनि छलफल गर्नेछौं। त्यहाँ नराम्रो काम भयो त्यसमाथि कारवाही गर्नैपर्छ।"

कोलोनका आक्रमणकारीहरु उत्तरी अफ्रिकी या अरबका जस्ता देखिएका भनेपछि गत एक वर्षमा दश लाख भन्दा बढी आप्रवासीहरु भित्र्याएको जर्मनीमा सतर्कता बढेको छ ।

कोलोनमा जस्तै आक्रमण ह्यामबर्ग र स्टुटगार्ट शहरमा पनि भएको बताइएको छ।

जर्मन अधिकारीहरुले आप्रवासी विरोधीहरुले घृणा फैलाउन आक्रमणको घटनालाई प्रयोग गर्न खोजिरहेको भन्दै सचेत गराएका छन्।

आप्रवासी विरोधी पेगिडा ग्रुपले कोलोनमा शनिबार प्रदर्शन गर्ने जनाएको छ।

संघीय अधिकारीहरुले उक्त अपराध सम्बन्धमा ३१ जना संदिग्ध मध्ये १८ जना शरण खोजिरहेका व्यक्तिको पहिचान भएको बताएका छन्।