'संशोधन प्रस्तावप्रति मोर्चा पनि आशावादी'

  • 9 जनवरी 2016
तस्वीर कपीराइट Ram Sarraf
Image caption मधेसी मोर्चाको आन्दोलन र सीमानामा उसको धर्नाले देशमा आपूर्ति व्यवस्था अस्तव्यस्त बनाइदिएको छ

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन विधयेकमाथि अन्य दलहरुले राखेका संशोधन प्रस्तावहरुभित्रैबाट आफ्ना कतिपय मुख्य माग सम्बोधन हुनसक्ने सम्भावना रहेको जनाएको छ।

मोर्चाले अपुरो रहेको भन्दै असन्तुष्टि जनाएको सरकारी विधयेकमाथि सत्तारुढ लगायतका दलहरुले करीब दुई दर्जन संशोधन प्रस्ताव दर्ता गराएका छन्।

संघीय प्रदेशको पुनरावलोकनबारे दुई पक्षीय कार्यदलमा ‘सकारात्मक’ छलफल भइरहेको प्रतिक्रिया दिएको मोर्चाले परिणाम नआइसकेको भन्दै दुई साताको आन्दोलन कार्यक्रम घोषणा गरेको छ।

मोर्चाको नजर

नयाँ संविधान संशोधन प्रक्रियाभन्दा बाहिरै रहेको मोर्चाले दर्ता गरिएका संशोधन प्रस्तावहरुलाई भने नजिकबाट हेरिरहेको छ।

मोर्चाले त्यसरी ध्यान लगाएको अथवा आफ्ना माग पुरा गर्ने सम्भावना रहेका प्रस्ताव किटान गर्न भने मोर्चाका नेताहरुले मानेनन्।

धेरै संशोधन परेको उल्लेख गर्दै तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरले भने, “कुन संशोधनलाई समितिले सिफारीस गर्छ, संसदले कसरी पारित गर्छ र हाम्रो मागलाई कतिसम्म सम्बोधन गर्छ, हामीले नजिकबाट हेरिरहेका छौं।”

मौलिक हक र निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी अहिलेको प्रावधानप्रति मोर्चा असन्तुष्ट छ।

ती विषयमा फरक-फरक संशोधन प्रस्ताव दर्ता भएका छन्।

संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने, “हाम्रो माग सम्बोधन हुने गरी संशोधन प्रस्तावहरुलाई संसदीय समितिमा लगियो भने हाम्रा दुईवटा माग टुंगिने हो र त्यसलाई हामीले सकारात्मक रुपमा लिन्छौं। तर अहिले नै त्यो स्थिति छैन।”

आन्दोलन निरन्तर

अर्को मुख्य माग प्रदेश सीमाङ्कनको विधिबारे प्रमुख तीन दल सहितको कार्यदलमा भइरहेको कुराकानीलाई मोर्चाले ‘सकारात्मक’ मानेको छ।

यस्तो स्थितिमा मोर्चाकै कतिपय नेताहरुले आन्दोलन परिमार्जन गरी सीमा-नाकाको धर्ना अन्त्य गर्नेबारे विचार गर्ने पनि बताएका थिए।

तिनै मध्येका एक तमलोपाका अध्यक्ष ठाकुरले मोर्चाको बैठकबाट त्यसो नगरिनुको कारणबारे हाँस्दै भने, “वार्ता सकारात्मक भए पनि परिणाम र उपलब्धि त केही आएको छैन। त्यसैले आन्दोलनका पूर्व कार्यक्रम यथावत रहनेछन्।”

देखिने गरी परिणाममा तत्कालै केही नआए पनि मोर्चाको लम्बिंदो आन्दोलन र त्यसले निम्त्याएको अस्तव्यस्तताका माझ स्वयं मोर्चा र सरकार बढ्दो अन्तरिक र बाह्य दवावमा देखिन्छन्।

त्यसकारण पनि अबको केही दिनमा दुबै पक्षले निकास निकाल्नेछन् भन्ने आशा धेरैमा बढेको पाइन्छ।