लागूऔषध तस्करीका फरार नाईके पक्राउ

  • 9 जनवरी 2016
तस्वीर कपीराइट Reuters

मेक्सिकोका अधिकारीहरुले जेल तोडेर भागेका लागूऔषध कारोबारका एकजना नाइकेलाई पुनः पक्राउ गरिएको बताएका छन्।

एकमदै कडा सुरक्षा रहेको जेलभित्रै सुरुङ खनेर ६ महिना अघि ख्वाकीन एल च्यापो गुसमान फरार भएका थिए।

सबै सुरक्षा निकायको संयुक्त प्रयासमा उक्त कारवाही सफल भएको मेक्सिकोका राष्ट्रपतिले बताएका छन्।

उनलाई पुन: पक्राउ गर्न सफल भएकोमा अमेरिकाले मेक्सिकोलाई बधाई दिएको छ।

तस्कर

तस्वीर कपीराइट Getty

लागूऔषध कारोबारका नाइकेलाई पुनः पक्राउ गरिएपछि मेक्सिकोका राष्ट्रपति एनरिके पेन्या निएटोले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्- “कारवाही पूरा भयो, हामीले उसलाई पक्राउ गर्यौँ।”

विश्वकै सर्वाधिक खोजीसूचीमा रहेका लागूऔषध कारोबारीमध्येका एक गुसमानले मेक्सिकोको सिनालोआ राज्यबाट कोकिन, हेरोइन जस्ता लागूऔषध अमेरिकासम्म तस्करी गर्दै आएका थिए।

डेढ किलोमिटर लामो सुरुङ खनेर उनी जेलबाट भागेका थिए।

राष्ट्रपति निएटोले गुसमान पुनः पक्राउ परिनुलाई दण्डहीनतामाथिको विजय भएको र त्यसले मेक्सिकोका जनतामा कानुन पालना गराउन राज्य सक्षम भएको आत्मविश्वास बढाउने देखिएको बताएका छन्।

तस्वीर कपीराइट Reuters

उनले भने, “त्यस्तो कुनै समूह छैन् जोसँग भिड्न सकिँदैन।”

गुसमानले लागूऔषध कारोबार गर्ने मुख्य थलो रहेको उत्तर-पूर्वी सिनालोआ राज्यको लोस मोचिस शहरमा बिहानै गरिएको कारवाहीमा उनलाई पक्राउ गरिएको अधिकारीहरुले बताएका छन्।

जलसेना र प्रहरी सामेल उक्त कारवाहीका क्रममा अन्य पाँचजना मारिएको बताइएको छ।