हङकङमा विरोध प्रदर्शन

  • 10 जनवरी 2016
Image caption चिनिया बरिष्ठ नेताको आलोचना गर्ने पुस्तक विक्रेताहरु रहस्यमय रुपमा हराएका छन्

हङकङमा पाँचजना पुस्तक विक्रेताहरु एकपछि अर्को गर्दै रहस्यमय रुपमा हराएपछि हजारौं हङकङबासीले सडक निस्केर विरोध प्रदर्शन गरेका छन्।

हराएकाहरु चिनिया बरिष्ठ नेताहरुको चर्को आलोचना भएका पुस्तक बिक्री गर्नेहरु भनेर चिनिन्थे।

हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले ती मुद्दाहरुलाई महत्वका साथ हेरेको र प्रहरीले अनुसन्धान गरिरहेको जवाफ दिएको छ।

हङकङ सरकारले ती अपहरणका विषयमा प्रहरीले वृहत र विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

अधिकारको ग्यारेन्टी

प्रहरीले मुख्य भूमि चीनका अधिकारीहरुबाट तत्काल जवाफ माग गरेको हङकङ सरकारले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ: विधिको शासन हाम्रो समाजको मुख्य आधार हो र सबैजनाले कानुन मान्नुपर्छ।

त्यसो नगरे हङकङको कानुनको विपक्षमा हुन्छ। हङकङ सरकारले वाक स्वतन्त्रता प्रकाशन स्वतन्त्रता आधारभुत अधिकारहरु हुन् भन्दै कानुनले त्यसको ग्यारेन्टी गरेको जनाएको छ।

तस्वीर कपीराइट AFP
Image caption पुस्तक विक्रेता हराएकोमा विरोध प्रदर्शनमा जान पहेँलो रिबन बानेको अवलोकन गर्दै प्रहरी

राजनीतिक अपहरण गर्न पाइँदैन भन्ने नारा लगाउँदै सबै क्षेत्रका हजारौं मानिसहरु सडकमा पुगेका हुन्।

हङकङ र ब्रिटेनको दोहोरो नागरिकता लिएका पल ली हराएको एक साता पछि यो प्रदर्शन भएको छ।

आशंका

उनका चारजना सहकर्मीहरु गत अक्टोबर महिनामा हराएका थिए। उनीहरुले गर्दै आएको कामको पृष्ठभूमिका आधारमा सबैलाई मुख्य भूमि चीनमा पुर्याइएको आशंका गरिएको छ।

ली हराएपछि भने चौतर्फी त्रास र आक्रोश मच्चिएको छ।

उनलाई अन्तिम पटक हङकङमा देखिएको थियो जहाँ चिनिया अधिकारीहरुको कानुनी अधिकार छैन।

उनलाई जर्बजस्ती मुख्य भूमि चीन लगिएको र अनुसन्धानमा राखेर दण्डित गर्न खोजिएको विश्वास गरिएको छ।