एक सातापछि ग्यास अभाव घट्न थाल्छः निगम

  • 11 जनवरी 2016
Image caption पर्याप्त मात्रामा ग्यास आपूर्ति हुन नसक्दा पछिल्लो समय शहरमा पनि दाउरा प्रयोग बढेको छ।

नेपाल आयल निगमले वीरगञ्जबाहेक देशका अन्य नाकाहरुबाट पछिल्लो समय सहज रुपमा ग्यास आपूर्ति हुन थालेकोले एक सातापछि अभाव घट्दै जाने बताएको छ।

निगमका अनुसार भारतीय आयल निगम पनि बढी परिमाणमा ग्यास दिन तयार भएको छ।

व्यवसायीहरुले आधा नभई पूरा सिलिण्डर ग्यास बेच्न चाहेको बताएका छन्।

नेपाली बजारमा अहिले दैनिक माग हुँदै आएको २९ हजार मेट्रिक टनलाई बढाएर ३३ हजार मेट्रिक टन ग्यास दिन भारतीय आयल निगम आइओसी तयार भएको बताइएको छ।

परिमाण

त्यसका लागि भारतका चारवटा स्थानमा रहेका डिपोहरु बिहारको बरौनी, पश्चिम बंगालको हल्दिया, उत्तर प्रदेशको मथुरा र हरियाणाको कर्णाल डिपोमा संकलनको व्यवस्था मिलाइएको नेपाल आयल निगमले बतायो।

रक्सौलमा रोकिएको ग्यास बुलेटहरुको बाटो परिवर्तन गरी ल्याउने काम पनि भइरहेको निगमका प्रवक्ता मुकुन्द घिमिरे बताउँछन्।

उनले भने, “रक्सौलमा अड्किएका भरिएका बुलेटहरु अर्को बाटोबाट ल्याउने प्रक्रिया अगाडि बढी सकेको छ, रक्सौलमा रोकिएकामध्ये ८८ वटा बुलेट भोलिसम्ममा आइपुग्छ, सबै बुलेटहरु आइसकेपछि उपभोक्ताले अलिकति ग्यास आउन थालेछ भन्ने अनुभव गर्ने गरी वितरण हुन्छ।”

गत तीन महिनाको समयावधिका ग्यास आपूर्ति ११ प्रतिशतबाट बढेर २५ प्रतिशत पुगेको र यो महिनामा त्यसको दोब्बर बढेर ५० प्रतिशत पुग्ने निगमको आंकलन छ।

आपूर्ति सहज हुन थालेको संकेत देखिएपनि भारतीय बुलेट गाडीमा निर्भर हुनुपरेकोले चाहेर पनि बढी परिमाणमा ग्यास ल्याउन नसकिने व्यवसायीहरु बताउँछन्।

वितरण

नेपाल एलपी ग्यास उद्योग संघका उपाध्यक्ष कुशप्रसाद मल्लीले भने, “नेपालसँग आफ्नै बुलेट छैन, भारतीय ५ सय बुलेटले ग्यास ओसारिरहेको छ, एकैचोटी दुई चार हजार बुलेट ल्याउन व्यवस्था गर्न पनि सम्भव छैन, त्यही ५ सय बुलेटबाट ओसार्दा दुई चार महिना लाग्न सक्छ।”

व्यवसायीहरुका अनुसार कालोबजारी र कमजोर वितरण प्रणालीका कारण ग्यास विक्री गर्न सजिलो छैन भने नेपालमा खाली रहेका ६५ लाख ग्यास सिलिण्डर भर्न समय लाग्नेछ।

ग्यास धेरै आउन थालेपछि व्यवसायीहरुले भरी सिलिण्डर भर्न पाउँ भनेर सरकारलाई लिखित निवेदन दिइसकेका छन्।

सिलिण्डर वर्षको एकपटक सफा गर्ने चलन रहेपनि हाल असहज अवस्थाका कारण सफा नगरिएपनि आफ्नै सुरक्षाका लागि ग्यास सिलिण्डरहरु सफा गर्नुपर्ने व्यवसायीहरु बताउँछन्।