मदायातर्फ सहायता ट्रकहरु प्रस्थान

  • 11 जनवरी 2016
तस्वीर कपीराइट Getty

सिरियामा एक महिनालाई पुग्ने खानेकुरा, औषधि र जाडोका लुगा बोकेर सहायताका लागि केही गाडीहरु त्यहाँको नगर मदायातर्फ लागेका छन्।

सरकारी सेनाको घेराबन्दी रहेको सो नगरमा ४० हजार जना फँसेका छन्।

गत अक्टोबर महिनादेखि उनीहरुले खानेकुरा पाएका छैनन्।

संयुक्त राष्ट्रसंघ र रेडक्रसका गाडीहरु सिरियाको राजधानी दमस्कसबाट प्रस्थान गरेका हुन्।

घेराबन्दी

इदलिब प्रान्तमा सरकारको नियन्त्रणमा रहेका तर विद्रोहीका घेराबन्दीमा परेका दुई गाउँहरुतर्फ पनि सहायताका गाडीहरु गएका छन्।

राजधानी दमास्कसबाट करीब २५ किलोमिटर उत्तरपश्चिममा रहेको मदाया नगर लेबनानको सीमानाबाट ११ किलोमिटरको दूरीमा छ।

उक्त नगर गत जुलाई महिनादेखि सिरियाली सरकार र लेबनानको शिया हेज्बोल्लाह लडाकुहरुको घेराबन्दीमा रहेको छ।

उत्तरी प्रान्त इदलिबस्थित दुई गाउँहरुकालागि पनि सहायताका सामानहरु लिएर २१ वटा लरीहरु प्रस्थान गरेका छन्।

तस्वीर कपीराइट AFP

२० हजार मानिसहरु फसेका ती गाउँहरु फोआ र केफ्रायाको स्थिति पनि गम्भीर भएको बताइएको छ।

भयावह

मेद्साँ सँ फ्रोन्ट्य नामक चिकित्सकीय सहायता संस्थाका ब्रीस डे ला भीनले मदाया नगरको स्थिति निकै भयावह रहेको जनाए।

मेद्साँ सँ फ्रोन्ट्यले मदायाभित्रका चिकित्सकहरुसंग संपर्क गरिरहेको छ।

डे ला भीनले मदायाभित्र कम्तीमा २५० जना अति कुपोषणले ग्रस्त रहेको र ती मध्ये १० जनालाई तत्काल चिकित्सकीय रेखदेख नभएमा उनीहरुले ज्यान जान सक्ने बताए।

विश्व खाद्य संगठनले खानेकुरा र औषधि लिएर आईतबार नै मदाया पुग्ने योजना बनाएको थियो।

खाद्यान्न पठाउन ढिलाई भएको कारण खुलेको छैन, तर बेईरुतबाट बीबीसीका जीम म्योरका अनुसार युद्धको समयमा सीमारेखाहरु पार गरेर यस्तो किसिमको सम्झौता गर्नु सधैं नै गाह्रो हुने गर्दछ।

सहमति

तस्वीर कपीराइट AP

यसका लागि दुबै पक्षका मुख्य राजनीतिक नेताका साथसाथै लडाकुहरुको पनि सहमति चाहिन्छ।

सिरियाली द्वन्द्व शुरु भएपछि सिरियाका धेरै ठाउँ घेराबन्दीमा परेका छन्।

तर अत्यन्त कुपोषित मानिसहरुका तस्वीरहरु सार्वजनिक भएपछि मदायाले विश्वको ध्यान तानेको छ।

सिरियाली सरकारले भने त्यस्ता तस्वीरहरुलाई झुट्टा भन्दै आएको छ।